रेशम चौधरीले जापानमा पोखे श्रीमतीप्रतिको गुनासो
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जापान पुगेपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठप्रति गुनासो पोखेका छन् ।
थारु कल्याणकारी सभा जापानको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको बेलामा पार्टीभित्रको अन्तरकलहको पोको खोलेका हुन् । ११ महिनासम्म मन्त्री हुँदा रञ्जिताले कुनै काम गर्न नसकेको पनि रेशमले आरोप लगाए ।
श्रीमतीसमेत रहेकी अध्यक्ष श्रेष्ठमाथि कटाक्ष गर्दै उनले भने, ‘११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो, तर काँग्रेस, एमाले र माओवादीको मात्रै काम भयो, जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर गाडी चढ्नलाई, सुत्नलाई घर लिनलाई, उद्घाटन गर्नलाई मात्र हामीलाई मन्त्रालय चाहिएको छैन ।’
रञ्जिता निकटका केही नेताहरु आफ्नो आँखा छल्दै माओवादीसँग मिलेर सिंहदरबार छिर्ने दाउमा रहेको पनि रेशमको आरोप छ । चुनावमा उपयुक्त नेतालाई टिकट दिएनछु कि भन्ने महशुस भइरहेको बताएका उनले आगामी दिनमा त्यस्तो हुन नदिने बताए ।
‘सकेसम्म रेशम चौधरीको आँखा छलेर सिंहदरबार जान पाइएला भन्नेमा साथीहरू छन्’, उनले भने, ‘हिजो जेलमा जो आयो, त्यसैलाई टिकट दिए । को राम्रो, को कस्तो, मैले चिनिनँ ।’
ठूला दलहरुले साना दललाई आफ्नो स्वार्थमा प्रयोग मात्र गरिरहेको र यो कुरा रञ्जिताले नबुझेको रेशमको दाबी छ । पार्टीका नेताहरुलाई सेचत गराउँदै उनले भने, ‘अहिलेका ठूला दल भनेको हाम्रा घर भत्काइदिने, हामीलाई आहारा बनाइदिने स्याल, हुँडार, बाघ भालुजस्तै हुन्, यीनले ०८४ सम्म साना सबै पार्टीलाई सखाप पार्ने योजना बुनेका छन् ।’
चौधरीले केही समयअघि सामाजिक सञ्जालमार्फत् रञ्जितालाई ठूला दलको प्रलोभनमा नपर्न आग्रह गरेका थिए । श्रीमान–श्रीमतीको वैचारिक विवादकै कारण पार्टी नै फूटतर्फ उन्मुख भइरहेको चिन्ता गर्दै उनले भनेका थिए, ‘रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’
टिप्पणीहरू