योजना आयोगलाई तथ्यमा आधारित नीति बनाउन निर्देशन

योजना आयोगलाई तथ्यमा आधारित नीति बनाउन निर्देशन
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम ल्याउन राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । 

योजना आयोगका नवनियुक्त सदस्यहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर उहाँले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्न निर्देश गर्नुभएको हो । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा झन बल्झिने अवस्थालाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

'आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु', उहाँले भन्नुभयो, 'आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।'

तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन पनि प्रधानमन्त्रीले आयोगका नवनियुक्त सदस्यहरुलाई दिर्नेशन दिनुभयो । 

'मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ' प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।'

उहाँले सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेटमा समावेश गर्न निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू