रवि लक्षित गगनको टिप्पणी - राजनीतिमा छट्टुहरु हाबी भए
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गरेका छन् ।
आज काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । सत्तारुढ रास्वपाका नेताहरुतर्फ लक्षित गर्दै महामन्त्री थापाले छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको बताए ।
‘राजनीतिमा छट्टुहरु हाबी हुन थाले । छट्टुहरु त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । यसो रङरोगन गर्छ, जान्छ', उनले भने । मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताको जरुरी रहेको पनि थापाको भनाई छ ।
'हामीलाई छट्टुहरु चाहिएको होइन । हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मती दुवै भएको मान्छे चाहियो । मती छ गति छैन, गति छ, मति छैन । हामीलाई त गति र मति दुईवटै चाहियो । किनकी यो बेलामा हामीले मति पनि ठिक राख्नुपर्नेछ', उनले भने ।
महामन्त्री थापाले काँग्रेसभित्र पनि मति बिग्रेका नेताहरु भएको स्वीकार गर्दै सुधार गरेर अघि बढनुपर्नेमा जोड दिए । भने, 'हामीले आफ्नो घरभित्रको फोहोर पनि ठिक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठिक गर्नैपर्छ ।’
टिप्पणीहरू