गृहमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाइयो

गृहमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाइयो

सहकारी संस्थाको रकम ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिले बोलाएको छ । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उनलाई छलफलका लागि उपस्थित हुन खबर गरेको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा भोलि बिहान ११ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री लामिछानेलाई बोलाइएको समिति सचिवालयले जनाएको छ । 

गृह मन्त्रालयका केही कामकारवाहीबारे छलफल गर्नुपर्ने भएकाले लामिछानेलाई बैठकमा बोलाइएको जानकारी गराइएको छ । समिति सभापति काँग्रेस सांसद रामहरि खतिवडा हुन् । पोखराको सुर्यदर्शन सहकारीका पीडितहरुले केही दिनअघि मात्र सहकारी ठगी प्रकरणको छानविन गर्न माग गर्दै उनलाई ज्ञापन पत्र बुझाएका थिए । 

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । संसद्को पछिल्लो बैठकपछि खतिवडाले छानबिन समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिएका थिए । 

उनले भनेका थिए, ‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन । हामीले छानबिनको लागि संसदीय समिति गठन गर्न माग गरेका छौं । त्यो माग पूरा नगरे संसद् चल्दैन, त्यो काम सरकारको हातमा छ ।’
 

टिप्पणीहरू