रास्वपा लण्ठूहरुको झुण्ड रहेको एमालेको निचोड

रास्वपा लण्ठूहरुको झुण्ड रहेको एमालेको निचोड
सुन्नुहोस्

एमाले सिन्धुपाल्चोकको १० औं अधिवेशन चौताराको आहलडाँडामा जारी छ । अस्तिदेखि सुरु भएको अधिवेशन आज समापन हुने बताइएको छ । 

अस्तिको उद्घाटन समाहरोहमा मान्छे बटुल्न अध्यक्ष केपी ओलीबाट अधिवेशन उद्घाटन हुने प्रचार गरिएपनि नेता अमृत बोहरा प्रमुख अतिथि बनेका थिए ।  अध्यक्ष बाको भाषण सुन्न भनेर ओइरिएकाहरु हिस्स अनुहार लगाएर फर्किएका देखिन्थे । चैतको बा आउने आशमा पसिना काढेर चौताराका टुँडिखेलमा पर्खेकाहरु नआउने खबर पाएपछि भटाभट फर्केका थिए ।

यता आहलडाँडामा भने हिजो पार्टी जिल्ला समितिको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । संगठनलाई मजबुत बनाएर लैजाने विषयमाभन्दा पनि प्रतिवेदन अरु दललाई सत्तो सराप गर्नमा केन्द्रित देखिन्छ । 

प्रतिवेदनमा गठवन्धन दल माओवादीको खेदो खन्न कुनै कसर बाँकी राखिएको छैन । अवसरवाद, अराजकता, अपारदर्शीता,अदूरदर्शीता अस्थिरता र एजेण्डविहीन दलको कित्तामा उभ्याउँदै एमालेकै सहयोगले २०७४ मा तेस्रो र २०७९ को निर्वाचनमा काँग्रेस र एकीकृत समाजवादीकै सहयोगका कारणले सिन्धुपाल्चोकमा संघमा एक सिट र प्रदेशमा दुई सीट जित्न माओवादी सफल भएको एमालेको ठहर छ ।

२०५२ सालमा जसरी हिंसात्मक आन्दोलनको जगमा प्राप्त राजनीतिक शक्तिको रुपमा माओवादी जसरी उदाएको थियो, त्यसरी नै विघटनको दिशातर्फ उन्मुख भएको प्रतिवेदनमा उल्लेख छ । सिन्धुपाल्चोकमा जनस्तरमा यो पार्टीको अलोकप्रियता चुलिँदै गएको, दलाल पूँजीपतिहरुको टुकडी बनेको र माओवादीभित्रका असल नेताहरु आफ्नो पार्टीमा आएको लेखिएको छ  ।

सत्ता साझेदार दल माओवादीप्रति प्रतिवेदनमा उग्र देखिएको एमाले सिन्धुपाल्चोक नेपाली काँग्रेसप्रति नरम देखिएको छ । काँग्रेसप्रति पूरानै भाषामा यथास्थितिवादी, पूँजीवादीहरुको पार्टी भएको उल्लेख छ । सिन्धुपाल्चोकमा काँग्रेस जनस्तरमा अलोकप्रिय र कमजोर हुँदाहुँदै पनि कम्युनिष्टहरुको बीचमा खेल्दै राजनीतिक फाइदा लिएको एमालेको निचोड छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नै विचार, दर्शन केही नभएको लन्ठूहरुको झुण्डको दर्जा दिइएको छ । एमालेले गरेको कामको प्रचारप्रसार गर्न नसक्दा रास्वपाको उदय भएको पनि दाबी छ । 

एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा एकीकृत समाजवादीलाई अस्तित्वको संकटमा उभिएको पार्टीको दर्जामा राखिएको छ । प्रस्तुत प्रतिवेदन छलफलपछि पारित भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु भएको एमाले सिन्धुपाल्चोकले जनाएको छ ।

नयाँ नेतृत्वका लागि बहालरत अध्यक्ष कमल नेपाल र होमनारायण श्रेष्ठबीच कडा टक्कर हुने अनुमान छ । एमालेभित्र र बाहिर सोझा, इमान्दर नेताको रुपमा छवि बनाएका नेता नेपालको पक्षमा अरुण नेपाल, डम्बर अर्याल, झम्क नेपालहरु कम्मर कसेर लागेका देखिन्छन् । होमनारायण श्रेष्ठको पक्षमा सुभाष कर्माचार्य, कृष्णराज श्रेष्ठ, हस्त पण्डित लगायतका नेताहरुको आर्शीवाद रहेको बताइन्छ । नेता शेरबहादुर तामाङ भने तटस्थ देखिएका छन् । चुपचाप बसेका नेता तामाङ जता पल्ला भारी हुन्छ त्यतै देखिने सिद्धान्तमा रहेको उनीहरुको बुझाई छ । 

अध्यक्षका लागि बादल तामाङको पनि उम्मेद्वारी परेको निर्वाचन समितिले  जनाएको छ । उपाध्यक्षमा अर्जुन भण्डारी, विष्णुमणि आचार्य र सुदनराज गिरीले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सचिवमा कृष्णगोपाल तामाङ र यज्ञराज सापकोटाको उम्मेदवारी परेको छ ।

अधिवेशनमा १०३ वटा वडाबाट प्रतिनिधित्व गरेका ६४७ जना प्रतिनिधिहरुले मतदान गर्ने बताइएको छ ।

टिप्पणीहरू