दया र मिरुनालाई व्यवसायिक साख फर्काउने चुनौती

दया र मिरुनालाई व्यवसायिक साख फर्काउने चुनौती
सुन्नुहोस्

भनिन्छ नि, चिनी पनि बढि भयो भने तीतो हुन्छ ! त्यसकारण जतिसुकै अब्बल भएपनि यौटै कलाकार चलचित्रको पर्दामा बारम्बार दोहोरिँदा दर्शकले दिक्क मान्नु सामान्य हो । कुनै एउटा जनराको फिल्म हिट भयो भने त्यसको सिको गर्दै त्यस्तै प्रकारको चलचित्र बनाउने प्रवृत्तिले दर्शक दिक्दार हुने स्थिति छ, अहिले ।   

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अहिलेको ट्रेण्डिङ कलाकारहरु हुन् । यो जोडीले स्क्रिन शेयर गरेका थुप्रै चलचित्र ब्लकबस्टर छन्।

दुई वर्षअघि रिलिज भएको 'कबड्डी: दि फाइनल म्याच'मा दया र मिरुनाको केमेष्ट्रीलाई दर्शकले निकै रुचाए । फलस्वरुप यो चलत्रिलले २१ करोड कलेक्सन गरेर सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड नै बनायो । 

त्यसपछि पुनः दया र मिरुनाको 'जारी' आयो । कवि उपेन्द्र सुब्बाको लेखन तथा डेब्यु निर्देशन रहेको यो चलचित्र पनि दर्शकको रोजाईमा पर्न सफल भयो । यसले बक्स अफिसमा सरदर १८ करोड कलेक्शन गरेको दावी गरिएको छ । 

निर्देशक दिपेन्द्र लामाले यहि जोडीलाई लिएर चलचित्र 'नांगो गाउँ' बनाए । तर, दया र मिरुनाको केमेष्ट्री देखेर हौसिएका निर्देशक लामाले सोचे अनुसारको नतिजा पाएनन् । चलचित्रले अपेक्षित रुपमा आम्दानी गर्न सकेन । यद्यपि, चलचित्रले राम्रै समीक्षा पाएको थियो । तर, समीक्षाले मात्र निर्माताको लगानी उठ्ने कुरा भएन । लगानी उठ्न दर्शकले हलमा गएर चलचित्र हेरिदिनुपर्छ ।'नांगो गाउँ'को हकमा पनि दर्शकले हलसम्म जाने खासै रुची देखाएनन् । कारण हो, दया र मिरुनालाई यसअघि दर्शकले 'जारी' र 'कबड्डी: फाइनल म्याच'मा भरपुर हेरिसकेका थिए । जसोतसो यो चलचित्रले आफ्नो लगानी मात्र भए पनि उठाएको बताइन्छ । 

दया र मिरुनालाई लिएर चलचित्र बनाउने श्रृंखलता यतिमै रोकिएन । निर्देशक अर्जुन सुवेदीले पनि 'रंगेली' बनाए । चलचित्र गत महिना प्रदर्शनमा आएको थियो । तर, करिब चार वर्षदेखि एउटै प्रकारको कथावस्तुमा उही कलाकार देख्दा दिक्क भइसकेका दर्शकको रुचिमा यो चलचित्र पनि परेन ।  मिश्रित समीक्षा पाएको चलचित्रले व्यापासायिक सफलता भने पाएन, त्यो भनेको फ्लप भएको पुष्टि हो । करिब चार करोड लगानीमा निर्माण भएको भनिएको चलचित्रले फाइदा त परको कुरा, लगानीसमेत उठाउन नसकेको बताइन्छ । 

अहिले फेरि उनै जोडी दया र मिरुनाको मुख्य भूमिका रहेको चलचित्र 'घरज्वाइँ'को पोस्टर सार्वजनिक भएको छ । आज विहान पोष्टर सार्वजनिक भएलगत्तै अनेक टिप्पणी भैरहेका छन् । खासगरी बारम्बर एउटै कलाकारको अनुहार हेरिरहँदा दर्शकमा अत्यास उत्पन्न हुन थालेको धेरैको प्रतिक्रिया छ । यस्तो अवस्थामा यो चलचित्रलाई दर्शकहले कत्तिको रुचाउलान्, अहिले अनुमान मात्र गर्न सकिन्छ । 

अगामी वर्षको असार २८ गते रिलिज हुने भनिएको 'घरज्वाइँ'मा रोल्पाका जनक घर्ती मगरको लगानी छ । 'आग्रे' फेम्ड निर्देशक अनिल बुढाको निर्देशन रहेको यो चलचित्र पूर्वी-रुकुमको तकसेरामा छायांकन गरिएको हो । चलचित्रमा दया र मिरुना अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले लगायतको अभिनय छ । 

चलचित्रको पोस्टर हर्दा ऐतिहासिक भूगोल तकसेरामा देखिएका दया र मिरुनाको लुक्क आकर्षक लाग्छ । तर, यो जोडीलाई 'जारी' र 'कबड्डी'को साख फर्काउन भने ठूलो चुनौती रहेको समीक्षकहरुको टिप्पणी छ ।
 

टिप्पणीहरू