विश्वचर्चित भारतीय विश्वविद्यालयमा वामपन्थीको जीत
भारतको प्रख्यात विश्वविद्यालय जवाहरलाल नेहरु (जेएनयु) मा हालै सम्पन्न विद्यार्थी युनियनको चुनावमा अधिकांश महत्वपूर्ण पद वामपन्थी खेमाका विद्यार्थीले जितेका छन् । गत साता सार्वजनिक चुनावी परिणामअनुसार युनियनका सभापति, उपसभापति,महासचिव र सहसचिव पदमा वामपन्थी खेमाका उम्मेदवार विजयी भएका छन् ।
पछिल्लो १२ वर्षमा भएको विद्यार्थी युनियनको चुनावमध्ये यस पटक ७३ प्रतिशत मत खसेको थियो । पछिल्लो परिणामले भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक संघको समर्थनप्राप्त अखिल भारतीय विद्यार्थी परिषदलाई ठूलो धक्का लागेको छ ।
पछिल्लो २७ वर्षमा पहिलो पटक यो वर्ष धनञ्जयको विजयमार्फत दलितहरुले विद्यार्थी युनियनको नेतृत्वमा बाजी मारेका छन् । बिहार गयाका धनञ्जयले दुई हजार ५९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अखिल भारतीय विद्यार्थी परिषदका उमेश सी अजमेरले एक हजार ६७६ मत पाएका थिए । परिणामअनुसार वामपन्थी खेमाका विद्यार्थीहरुमध्ये उपसभापतिमा अभिजित घोष,महासचिवमा प्रियन्शी आर्या र सहसचिवमा सजिद असिफ निर्वाचित भएका छन् ।
टिप्पणीहरू