बाग्मतीका मुख्यमन्त्रीलाई तेस्रो पटक विश्वासको मत

बाग्मतीका मुख्यमन्त्रीलाई तेस्रो पटक विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । 

मुख्यमन्त्रीले आज प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा बहुमत सांसदले पक्षमा मतदान गरेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा परेका थिए । 

सरकारको नेतृत्व गरेको दल विभाजित भए वा समर्थन गरेका दलले समर्थन फिर्ता लिए एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीबमोजिम मुख्यमन्त्रीले आज विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए । 

जम्मा १०८ जना सांसद उपस्थित रहेको प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ५६ सांसदले विश्वासको मत दिए । काँग्रेसका ३७ सांसदले विपक्षमा मतदान गरे भने राप्रपा र नेमकिपाका गरेर १५ जना तटस्थ बसेका थिए । यसअघि एकीकृत समाजवादीले पनि तटस्थ रहने संकेत दिएको थियो । तर, केन्द्रमा कुरा मिलेपछि सो पार्टीले विश्वासको मत दिएको हो । 

२०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए । लगत्तै एमालेले सरकार छाडेपछि गत वर्ष चैत १० गते दोस्रो पटक उनले विश्वासको मत प्राप्त गरेका थिए ।

टिप्पणीहरू