यसरी छानिए तोयम महालेखापरीक्षकमा
संवैधानिक परिषदको अस्ति बिहान बसेको बैठकले सचिव तोयम रायलाई रिक्त महालेखापरीक्षक पदमा नियुक्तिको लागि सिफारिसको निर्णय गरेको छ । उनको नियुक्तिअघि संसदीय सुनुवाई प्रक्रिया पनि शुरु भइसकेको छ । समितिको हिजोको बैठकले १० दिनभित्र उनीविरुद्ध कुनै उजुरी भए पेश गर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।
महालेखापरीक्षकबाट टंकमणि शर्मा अवकाश भएको झण्डै १० महिनापछि तोयम राय सिफारिस भएका हुन् । गत साता उनलाई उद्योग मन्त्रालयको सचिवमा सरुवा गर्ने तयारी हुँदै थियो । राय यतिखेर राष्ट्रिय तथ्याङ्क कार्यालयमा सचिव छन् ।
सरकारले महालेखापरीक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि इच्छुक उम्मेदवरसँग निवेदन आह्वान गरेको थियो । फाराम भरेका १६ जनामध्ये राय पनि एक हुन् । दौडमा पूर्व अर्थसचिव शिशिर ढुंगाना पनि थिए । परिषद्को बैठक अघिसम्म बालकोटको हिट लिष्टमा ढुंगाना रहेको चर्चा थियो ।
तर,रायको नाममा केपी ओली अडिएपछि राजनीतिक स्रोतले बालुवाटार,बूढानीलकण्ठ र बालकोट सबैलाई मिलाउन उनी सफल भएको अर्थ लगायो । अस्तिको बैठकमा सहर्ष उनको नाम चयन हुनुलाई प्रशासन र राजनीतिक दुवै क्षेत्रमा सुखद आश्चर्यको रुपमा लिइएको बताइन्छ ।
बालकोट निकट एक जना पूर्व सचिव भन्छन्, ‘शिशिरजी क्याम्प छाडेर हिँडेकाले पछाडि पर्नुभयो । बालकोटले उहाँले दुई वटा डुंगामा खुट्टा हालेको सुईंको पाएपछि निर्णय यु टर्न भएको हो ।’
बालकोटले निकै भरोसा गर्दै आएको अवस्थामा उनी अर्थमन्त्री वर्षमान पुनसँग नजिकिएपछि निर्णय रायको पोल्टामा परेको बताउनेहरु पनि छन् । ‘अहिलेका अर्थमन्त्रीले च्यापेको बालकोटले थाहा पाएपछि सुईंकाइदिएको हुनुपर्छ’ एमाले निकट एक जना पूर्व प्रशासकले भने ।
शिशिर जनसम्पर्क निकै राम्रै भएका प्रशासकमध्येमा पर्छन् । उनले गत वर्ष लोकसेवा आयोगमा पनि आस गरेका थिए । राय र ढुंगानाबारे चर्चा गर्दै उनै प्रशासकले भने, ‘राय शान्त खालका देखिन्छन् भने ढुंगाना अलि एक्टिभ हुन् । दुवै अर्थमै थिए । राय अख्तियारमा पनि बसे । शिशिर यसपटक चाहिँ निकै आशावादी देखिन्थे ।’
टिप्पणीहरू