रेशम र रञ्जिताको झगडामा प्रचण्ड र ओलीको चासो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ ।
सत्ता गठबन्धनमा सहभागिताको विषयलाई लिएर आन्तरिक किचलोमा फसेको नाउपाका दुबै खेमाका मुख्य नेतालाई आज बालुवाटारमै बोलाएर प्रधानमन्त्रीले संवाद गर्नुभएको हो । बिहान रञ्जितासँग भेट गर्नुभएका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमलाई बालुवाटार बोलाएको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार रेशमलाई पार्टी एकता बचाइराख्न र दुबै तहका सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । जवाफमा रेशमले आगामी २३ र २४ गते पार्टीको बैठक बोलाइसकिएको र बैठकले गर्ने निर्णयक आधारमा अघि बढ्ने बताए ।
अहिलेको सत्ता समीकरणको पक्षमा रहेकी रञ्जिताले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेकी छन् । प्रधानमन्त्री भेटेर बालुवाटारबाट बाहिरिएलगत्तै उनी बालकोट पुगेको बताइएको छ । ओलीले रेशमलाई पनि साँझ भेटका लागि बोलाएको बुझिएको छ ।
केन्द्रीय समितिको निर्णय उल्लङ्घन गर्दै केही सांसदहरु सुदूरपश्चिम सरकारमा गएपछि शुरु भएको विवादले नाउपामा लफडा चर्किएको छ । हिजो बिहान अनामनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा दुई पक्षबीच हात हालाहालको स्थिति निम्तिएको थियो ।
केन्द्रीय कमिटीको बैठक बसिरहेका बेला रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजनामाथि हातपात भएको थियो । पार्टी कार्यालयमै कुटिएका केन्द्रीय सस्दय रमेश विकले रेशमले मार्ने धम्की दिएको आरोप लगाएका थिए ।
कुटपिटमा संलग्न रहेको आरोपमा रञ्जिताले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई निष्कासन गरिदिएकी छन् ।
रेशमले भने पार्टीभित्रको विवादले आत्महत्या गर्ने अवस्थामा पुगिसकेको दु:खेसो पोखेका थिए । दिनभरका तनावले रक्तचाप बढेपछि उनी अस्पतालसमेत भर्ना भएका थिए ।
टिप्पणीहरू