समाजवादी क्रान्तिका लागि सडकमा ओर्लिन झलनाथ खनालको आह्वान

समाजवादी क्रान्तिका लागि सडकमा ओर्लिन झलनाथ खनालको आह्वान

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सडक र सदनको उपयोग बिना समाजवादी क्रान्ति सम्भव नहुने ठोकुवा गर्नुभएको छ । 

समाजवादी मोर्चाद्वारा आज काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । क्रान्तिका लागि वर्ग संघर्षमा जोड दिँदै खनालले त्यसका लागि सडकको मोर्चालाई प्रधान बनाउनुपर्नेमा जोड दिनुभयो । 

'बिना संघर्ष केही पनि हुनेवाला छैन । खाली बालुवाटार र संसदबाट क्रान्ति हुँदैन । नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन', उहाँले जोड दिँदै भन्नुभयो, 'सडकबाट संघर्ष गर्नुपर्छ । सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ । सदनको पनि उपयोग गर्नैपर्छ तर सडक प्रमुख कुरा हो ।' 

सडकबाट जनताका आवाजहरु बुलन्द गरी आन्दोलन चर्काउँदै वर्ग संघर्ष अघि बढाउन आह्वान गर्नुपर्नेमा जोड दिँदै खनालले नयाँ ढंगको एकता आवश्यक रहेको बताउनुभयो । जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्न नसके नेपाली विशेषताको समाजवाद नाउने पनि उहाँले दावी गर्नुभयो । 

'जनता नै हाम्रो पहिलो शक्ति हुन् । जनताको इच्छालाई बुझेर हामीले एकतावद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउँदैन । त्यसैले हामी सबैले नयाँ ढंगले एकताको मञ्च खोजौँ । नेपाली समाज अनुकूलको वर्ग संघर्षको आह्वान गरौँ । अहिले विचार मिल्नेहरुको सरकार पनि छ । त्यसैले अहिले प्रगतिशिल नीतिका कार्यक्रमहरु ल्याऔँ ।’

टिप्पणीहरू