इलामबाट आयो यस्तो चर्चा

इलामबाट आयो यस्तो चर्चा

पार्टी, पहिचान कि प्रतिष्ठा ? वैशाख १५ मा हुने उपनिर्वाचनले यी तीनमध्ये कसलाई जिताउने हो, देशवासी प्रतीक्षामा छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त इलाम क्षेत्र नं. २ मा चुनावी घम्साघम्सी चर्को हुँदैछ । त्यहाँ एमालेले सुवासका छोरा सुहाङ, पहिचान पक्षधरको साझा उम्मेदवारका रुपमा डकेन्द्र थेगिम, रास्वपाले पत्रकार मिलन लिम्बू र एकीकृत समाजवादीले जेबी राईलाई अगाडि सारेको छ । कांग्रेस र माओवादीले अहिलेसम्म नाम सार्वजनिक गरेको छैन । यदि चुनावमा दलीय प्रतिस्पर्धा भयो भने कांग्रेस र एमालेबीचमा जित–हार हुनुपर्ने हो । तर, पहिचान पक्षधरले डकेन्द्रलाई साझा उम्मेदवारका रुपमा उठाएका छन् । उनलाई उठाउनेहरू सबै पार्टीमा आवद्ध पहिचानवादी छन् ।

केन्द्रमा सत्ता गठबन्धन भएका कारण माओवादी र समाजवादीले अन्तिममा आ–आफ्ना उम्मेदवारलाई पछाडि हटायो भने चार पक्षबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेस, एमाले, पहिचानवादी र रास्वपामध्ये जनताको रुची कतातिर छ भन्ने कुराको छिनोफानो लाग्ने हो ।

जसपाले उम्मेदवारी नदिने, तर सक्रिय रुपमा पहिचानवादी डकेन्द्रलाई साथ दिने नीति लिएको छ । उसको गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष छन्, अर्थात् राम्रै प्रभाव छ । उक्त क्षेत्रमा एकीकृत समाजवादीको उल्लेख्य प्रभाव छैन । तर, माओवादी, राप्रपा, जनमुक्ति पार्टीले एक–एक वटा वडामा अध्यक्ष जितेका छन् । सिके राउतले पनि आफ्नो तर्फबाट एकजना उम्मेदवार तयार पार्दै धर्मगुरु आत्मनन्द लिङ्देनलाई भेटेका छन् । सिकेका उम्मेदवारचाहिँ पैसाका पछाडिमात्रै दौडिने नाममा बदनाम छन् । उनी महन्थको लोसपामा, दुर्गा प्रसाई, राजेन्द्र महतो हुँदै अहिले सिके राउतको पार्टीमा गएका हुन् ।
 

टिप्पणीहरू