बेथिति र अनियमितताको नमूना उर्लाबारी

बेथिति र अनियमितताको नमूना उर्लाबारी

-तेजन खड्का 

मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाको सरुवा भएपछि उनको ठाउँमा राजकुमार केसी आएका छन् । सुनसरीको दुहबी नगरपालिकाबाट सरुवा भएर आएका केसी एक साताअघि नगरपालिकामा हाजिर भएर सिधै काठमाडौं लागे । स्रोतका अनुसार उनी आगामी आइतबारदेखि काममा फर्कने छन् । 

तर नगरपालिकामा नगर प्रमुख, आफ्नो सचिवालय र तीनजना कर्मचारीको चेपुवामा परेपछि प्रमुख प्रशासकीय अधिकृत काठमाडौं गएको चर्चा चलेको छ । 
खासगरी नगरप्रमुख गङ्गाप्रसाद खरेल, उनको सचिवालयका कर्मचारी हरि खतिवडा, अधिकृत मुरारीप्रसाद घिमिरे, लेखा अधिकृत गोविन्द कार्की र जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनाको बेग्लाबेग्लै सेटिङ सहन नसकेपछि प्रशासकीय अधिकृतहरू टिक्न नसकेको बताइन्छ ।

नगरप्रमुख खरेल नगरमा सचिवालय र तीनजना कर्मचारीको घेराबन्दीमा हुने गरेका छन् । बाहिर निस्केपछि एमाले नगर अध्यक्ष गङ्गाप्रसाद बास्तोलाको टिमको चेपुवामा पर्छन् । जब उनी समाजमा पुग्छन्, त्यहाँ जोगी र सन्यासीको भीड जम्मा हुन्छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई कतिपय निर्णयमा सचिवालयका कर्मचारी हरि खतिवडाले समेत हस्तक्षेप गर्ने गरेको बताइन्छ । साना काममा समेत प्रशासकीय अधिकृतले सचिवालयसँग परामर्श लिएर मात्र हस्ताक्षर गर्नुपर्ने भएपछि उपसचिव तहको कार्यालय प्रमुख नगरपालिकामा नटिकेको कर्मचारीहरुको बुझाई छ ।

नाम नखुलाउने शर्तमा एक जना कर्मचारीले भने, ‘मुरारी घिमिरेले आवास सुविधा लिएका छन् । दैनिक नगरपालिकाको गाडी प्रयोग गरेर बिराटनगरको घरमा सुत्न जान्छन् । इन्धन र गाडीको खर्चको लेखाजोखा छैन । कतिपटक घिमिरेले गाडी प्रयोग गर्दा प्रमुख प्रशासकीय अधिकृत गाडीविहीन हुने गरेका छन् । अर्का कर्मचारी गोविन्द कार्कीको रवैया पनि उस्तै छ ।’

पछिल्लो समय प्रकाशित विज्ञापनको बिलमा समेत विभिन्न बहानामा किचकिच गरिएको पत्रकारहरुको दुःखेसो छ । एक जना सञ्चारकर्मीले भने, ‘नगर प्रमुख र प्रशासकीय अधिकृतबाट तोक लागेर आएको बिलको समेत भुक्तानी दिइएन । अचम्मको प्रवृत्ति हुन थालेछ ।’ 

प्रमुख प्रशासकीय अधिकृतहरू अघिल्ला मेयर खड्ग फागोको पालामा नटिकेको आरोप लागेको थियो । तर, खरेलका पालामा प्रशासकीय अधिकृत झन नटिक्ने अवस्थामा पुगेका छन् । 

नगरपालिकामा जिन्सी शाखा पनि उत्तिबै गन्हाएको छ । पूर्वमेयर फागोको पालामा काँग्रेस भएर जिन्सी शाखामा पुगेका तिम्सिना नगरमा खरेलको इन्ट्री हुने बित्तिकै एमाले बनेको आरोप छ । स्थानीय निकायमा जिन्सी शाखालाई मालदार शाखाको रुपमा लिइन्छ

तालिम गोष्ठीमा सहभागीलाई नगदै भुक्तानी दिँदा नक्कली नाम र हस्ताक्षर प्रयोग गरिएको आरोप यसअघि धेरै पटक लागेको छ । प्रशासन स्रोत भन्छ, ‘नक्कली नाम व्यवस्थापनमा सचिवालयले नै सहयोग गर्ने गरेको छ । प्रशासकीय अधिकृतको चेम्बरले वितरण गर्ने इन्धनका कुपनमा समेत जिन्सी शाखाको रजगज हुने गरेको पाइएको छ ।’

नगरमा प्रशासकीय अधिकृतको भन्दा अधिकृत आठौँ र लेखा अधिकृतको हालिमुहाली हुने अनि प्रशासकीय अधिकृतलाई सचिवालयले प्रयोग गर्न खोजेपछि उनीहरू नटिकेको स्थानीयको बुझाई छ । खोलाका ठेक्का, खोलाजन्य पदार्थको स्टोक प्रमाणित, पुरस्कार सम्मानमा मात्र होइन, नगरले किसानलाई दिने हरेक अनुदानका कार्यक्रममा कर्मचारीको उक्त समूहले हस्तक्षेप गरेको पाइन्छ ।

वातावरण प्रभाव मूल्याङ्कनले दिएको न्यूनतम मूल्यभन्दा कममा ठेक्का लगाउने र मापदण्डभन्दा चारगुणा बढी खोला उत्खनन् गर्ने कार्य समेत सेटिङमा हुने गरेको पाइन्छ । त्यस्तो कार्यमा केही जनप्रतिनिधि र बढी कर्मचारीको संलग्नता रहने गरेको छ । खोलाजन्य पदार्थको स्टक प्रमाणित गर्ने समयमा अघिल्लो वर्ष ढुंगागिटी स्टक नै नभएको कम्पनीलाई करोडौंको माल रहेको प्रमाणपत्र दिइएको थियो । त्यसपछि खोलो खन्ने बाटो खुलेको हो ।

नगरमा बेथितिको चाङ देखेपछि प्रशासकीय अधिकृतहरूले सुधारको प्रयास गरेको तर, नगरप्रमुख आफ्नै सचिवालय र तीन जना कर्मचारीको घेराबन्दीमा परेपछि प्रशासकीय अधिकृतहरू निरीह बनेको धेरैको बुझाई छ ।

राज्य पुनर्संरचनापछि नगरपालिका, गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुन थालेको हो । २०७१ को कात्तिकमा तोयानाथ घिमिरेले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए ।

उर्लाबारी नगरपालिकामा हालसम्म ११ जना प्रमुख प्रशासकीय अधिकृत पुगिसकेका छन् । केसी १२औँ प्रमुख प्रशासकीय अधिकृत हुन् ।

टिप्पणीहरू