सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, सरकारको भविष्य नाउपाको हातमा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् ।
दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची रहेको छ । केन्द्रमा नयाँ समीकरण बनेलगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहको पक्षमा बहुमत भने जुटिसकेको छैन ।
प्रदेश सभामा सात सिट रहेको नागरिक उन्मुक्ति पार्टीका पाँच सांसदलाई मन्त्री बनाएर सरकार जोगाउने उनको प्रयास थियो । तर, नाउपाको आन्तरिक किचलोका कारण विश्वासको मत पाउने सम्भावना कमजोर बनेको छ ।
सो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलले आज प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप नै जारी गरेको छ । यता, अध्यक्ष रञ्जिता श्रेष्ठले भने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप लगाएकी छन् ।
५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउन २७ सांसदहरुको समर्थन चाहिन्छ । उनलाई काँग्रेसका १८ बाहेक अन्य सांसदले समर्थन गर्ने स्थिति प्रष्ट भैसकेको छैन । सात सांसद रहेको नाउपा एकढिक्का भएर मुख्यमन्त्रीको पक्षमा उभिए पनि सरकार टिकाउन थप दुई सांसद पुग्दैन ।
विपक्षी गठबन्धनमा माओवादीका सभामुखसहित ११, एमालेका १० र एकीकृत समाजवादीका चार गरी २५ सांसद छन् । यो गठबन्धनलाई पनि बहुमत पुर्याउन थप तीन सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।
अहिलेको केन्द्रीय समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति भएको चर्चा छ ।
टिप्पणीहरू