उपनिर्वाचनमा थपिने मतदाता इलाममा भन्दा बझाङमा धेरै
निर्वाचन आयोगले उपनिर्वाचनका निम्ति अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले आज मतदाता नामावली सार्वजनिक गरेको हो । जसअनुसार इलाम-२ मा एक लाख १५ हजार ८८९ र बझाङ प्रदेशसभा १ मा ६१ हजार ७४८ जना मतदाता छन् ।
आयोगका अनुसार यसअघि यी दुई निर्वाचन क्षेत्रमा क्रमश: एक लाख १५ हजार ४६७ र ६१ हजार ११० जना मतदाता थिए । यसपटक इलाम-२ मा ४२२ र बझाङ-१ (१)मा ६३८ जना मतदाता थपिएका हुन् ।
त्यस्तै, आयोगको स्वीकृत मतदाता नामावलीबमोजिम देशभर आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेमध्ये महिला ८८ लाख ८६ हजार २२६, पुरुष ९२ लाख २ हजार ५६९ र अन्य १८८ गरी कूल एक करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम नामावलीमा समावेश भएको छ ।
जसमध्ये सबैभन्दा बढी मतदाता मोरङ र कम मनाङमा छन् । आयोगले सार्वजनिक गरेको नामावलीअनुसार सात लाख ३९ हजार ३९० मतदाता रहेको मोरङमा तीन लाख ६२ हजार ९७३ महिला, तीन लाख ७६ हजार ४११ पुरुष र अन्य ६ जना छन् ।
मनाङमा महिला तीन हजार ५३० र पुरुष तीन हजार ३१९ गरी ५ हजार ८४९ जना रहेको आयोगले जानकारी दिएको छ ।
टिप्पणीहरू