लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी पेश

लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी पेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् ।

बहुमत सांसदको हस्ताक्षरसहित उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका हुन् । महरालाई मुख्यमन्त्रीमा समर्थन गर्दै एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ सांसदले हस्ताक्षर गरेका छन् । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । प्रदेश प्रमुख शेरचनले आजै महरालाई मुख्यमन्त्री नियुक्त गर्ने सम्भवना छ । 

केन्द्रमा नयाँ समीकरण बनेसँगै माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री डिल्ली चौधरी अल्पमतमा परेका थिए । सरकार जोगाउन अनेक प्रयत्न गरेपनि सफल नभएपछि उनले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठन प्रक्रिया शुरु भएको हो । 

महरालाई मुख्यमन्त्रीमा समर्थन गर्न एमालेका लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी भगवती अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतबीच सात बुँदे सहमति पनि भएको छ । 

रोल्पाको सुनिलस्मिृति गाउँपालिका ५ काभ्रामा जन्मिएका महरा २०७९ माघमा बनेको एमाले नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनी प्रधानमन्त्री एंव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्र मानिन्छन् ।

टिप्पणीहरू