प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा लुम्बिनी जाँदै

प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा लुम्बिनी जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी जान लाग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा मध्यान्ह साढे १२ बजे बालुवाटारबाट त्यता जाने कार्यक्रम तय भएको छ । उहाँ लुम्बिनीमा हिजोदेखि आयोजित अन्तर्राष्ट्रिय शान्ति पर्वमा सहभागी हुने कार्यक्रम छ । 

महोत्सवमा हिजो बिहान ध्यान शिविरको आयोजना गरिएको थियो । कार्यक्रमको निम्ति चीनदेखि कलाकार,खेलाडी,बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा ओइरिएका छन् । प्रधानमन्त्री लुम्बिनीबाट दिउँसो ३ बजे राजधानी फर्कने कार्यक्रम छ। ।

आजै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल बुद्ध एयरको उडानमा भरतपुर जानुभएको छ । उहाँ दिउँसो साढे २ बजे बुद्ध एअरको उडानमा फर्कनुहुने छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहान भैरहवा जानुभएको छ । उहाँ यती एअरलाइन्सको उडानमा बिहान सवा ८ बजे त्यता जानुभएको हो । दिउँसो ४ बजे बुद्ध एअरकै उडानमा काठमाडौं फर्कनुहुने छ ।

बिहान साढे ९ बजे बुद्ध एअरको उडानमा अर्थमन्त्री वर्षमान पुन, रक्षामन्त्री हरि उप्रेती र नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी सिमरा जानुभएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बुद्ध एयरको उडानमा बिहान साढे १० बजे जनकपुर जाने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्याल बिहान साढे १० बजे बुद्ध एअरको उडानमा भद्रपुर जाँदै हुनुहुन्छ । 

उपसभामुख इन्दिरा राना बुद्ध एयरको उडानमा पोखरा जाने र पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बुद्ध एअरको उडानमा साँझ साढे ६ बजे भद्रपुरबाट काठमाडौं आउने कार्यक्रम तय भएको बुझिएको छ ।
 

टिप्पणीहरू