राजधानीका निषेधित क्षेत्र तोड्ने राप्रपाको चेतावनी
राजा र हिन्दुराष्ट्र फर्काउन सडक संघर्षको तयारीमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले काठमाडौँ केन्द्रित आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्ने चेतावनी दिएको छ ।
अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको बिरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरु तोडेर अघि बढ्ने खुला चेतावनी दिएका छन् । संविधानले दिएको विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको आरोप लगाएका उनले निषेधित क्षेत्र घोषणा गरेकोमा आपत्ति जनाए ।
तथापि आफ्नो पार्टीले शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने उनको भनाइ छ । तर, सरकारले अवरोध गर्न खोजे प्रतिवाद गर्ने लिङ्गदेनले प्रष्ट पारे ।
पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोडका कामहरु हुने छैनन् । त्यो क्रममा सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस् ।’ प्रधानमन्त्री र गृहमन्त्रीलाई विशेष आग्रह गर्दै लिंगदेनले अगाडि भनेका छन्, ‘पछिल्ला दिनमा प्रजातान्त्रिक क्रियाकलापहरु संविधानले नै दिएको सुविधा, बिरोध प्रदर्शन गर्न पाउने, सभा सम्मेलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै जुन निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरुलाई साँघुरो बनाउने प्रयत्नहरु भइरहेको छ ।’
प्रहरीले प्रदर्शनकारीलाई हिजो लाठी चार्ज गरेको र भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै लिङ्गदेनले उक्त घटनाको भत्र्सनासमेत गरेका छन् । हिजो राजेन्द्र महतोको नेतृत्वमा निस्किएको प्रदर्शनकारीको एक समूह र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।
‘भिक्षुहरुलाई लात्ती मुड्की गर्ने काम भयो । त्यसको म निन्दा र भत्र्सना गर्दछु’, लिङ्गदेनले भनेका छन्, ‘राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेछ । मुख्य सडकहरुमा जुलुस निकालिनेछ । जनसाधारणलाई असुविधा हुने कुनै क्रियाकलाप गर्ने छैन । त्यो क्रममा कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोज्यो भने त्यसको प्रतिरोध गर्नेछौँ र प्रतिवाद गर्नेछौँ ।’
टिप्पणीहरू