मसाल बोकेर राप्रपाका कार्यकर्ता ठाउँ-ठाउँबाट सडकमा
राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत आन्दोलनको तयारीमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले आज काठमाडौँमा मसाल जुलुस निकालेको छ ।
चैत २७ गते काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेको सो पार्टीले त्यसको पूर्वसन्ध्यामा आज उपत्यकाको विभिन्न स्थानबाट मसाल जुलुस निकालेको हो । ललितपुरको बटुक भैरब मन्दिर परिसरबाट निस्किएको जुलुस लगनखेल चाेकमा पुगेर काेणसभामा परिणत भएको छ ।
राप्रपा जिल्ला कार्यसमितिका अध्यक्ष अष्ट बाहादुर महर्जनकाे नेतृत्वमा साँझ सात बजेतिर निस्किएको जुलुसमा जिल्ला सचिव रघुवीरराज थापालगायत तीन दर्जनजति सहभागी थिए । त्यसक्रममा उनीहरुले 'राजतन्त्र जिन्दावाद', 'हिन्दुराष्ट्र कायम गर', 'संघीयता खारेज गर'जस्ता नारा लगाएका थिए ।
यता, नेपालटार चोकमा पनि राप्रपाका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । सो पार्टीको तारकेश्वर नगरपालिका इकाई कमिटीले निकालेको जुलुसमा सभापति बसन्त बस्नेतले नेतृत्व गरेका थिए । त्यहाँ ३० जना सहभागी रहेको बताइएको छ ।
आजै साँझ कागेश्वर मनोहरा नगरपालिका ५, थली चोकमा पनि राप्रपाले मसाल जुलुस गरेको छ । 'हिन्दुराष्ट्र कायम गर', 'राजतन्त्र जिन्दावाद', 'गणतन्त्र मूर्दावाद', 'विदेशी दलाल होशियार' भन्दै सवा ६ बजेको समयमा निस्किएको जुलुसमा प्रहरी हस्तक्षेप गरेको सो पार्टीले आरोप लगाएको छ ।
जुलुसको नेतृत्व केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेल गरेकी थिइन् भने काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, कागेश्वरी मनोहरा नगरअध्यक्ष मणि सिम्खडालगायत सहभागि थिए ।
टिप्पणीहरू