गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्नः निर्दोष भए छानबिन समिति बनाउन किन नमानेको ?
सहकारी ठगि प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको मागबाट पछि नहट्ने नेपाली कांग्रेसले प्रष्ट पारेको छ । सो पार्टीका नेता तथा सांसद प्रदिप पौडेलले संसदीय छानविन समिति गठन गर्ने पार्टीको अडान कायम रहेको बताएका हुन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नभएको ? भन्दै प्रश्नसमेत गरे । 'दोषी नभएको अवस्थामा समिति बनाउन किन अफ्ठ्यारो ?', पौडेलको प्रश्न छ ।
प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही पनि दोषी नहुने तर, सत्यतथ्य भने खोजिनुपर्ने उनको भनाई छ । सुशासन कायम गर्ने हो भने सरकारले सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने सांसद पौडेलले बताए ।
‘कुनैपनि घटना विशेषको तथ्यसत्य के हो ? भन्नेकुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन', उनले भने, 'तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो ।'
सुशासन कायम गर्न त्यसका सबै मान्यताहरु अङ्गीकार गर्नुपर्नेमा जोड दिएका उनले भ्रष्टाचार अन्त्य गर्नआजसम्म भएका सबै अनियमितताको छानबिन अपरिहार्य भएको उल्लेख गरे ।
'सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ । प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन । सुशासन पहिलो चाहना र आवश्यकता हो । सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न आजसम्मका जतिपनि घटना छन्, काण्डहरु छन्, त्यसको छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनुपर्छ',उनले भने ।
सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर पनि गरे ।
टिप्पणीहरू