राष्ट्रिय सभा उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्षका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ । आज संसद भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । 

पुडासैनीले दुर्गा गुरुङको प्रस्ताव र नारायणदत्त भट्टको समर्थनमा उम्मेदवारी दर्ता गराउँदा घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की अछामी रहेका छन् । 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताइन् । सदनमा भाषणभन्दा बढी काम गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा अध्यक्ष भएर काम गरेको पुरानो अनुभवसमेतलाई मिलाएर उपाध्यक्ष जितेपछि सोहीअनुसार काम गर्ने प्रतिवद्धता जनाइन् । 

राष्ट्रिय सभा कर्मकाण्डी बन्ने नभइ सभाको गरिमा बढाउने गरी काम गर्ने उनको भनाई छ । पुडासैनीले आफू निर्वाचित हुने विश्वाससमेत व्यक्त गरेकी छन् ।

एमाले नेतृ घिमिरेले पनि राष्ट्रिय सभालाई मर्यादित सभा बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाएकी छन् । राष्ट्रिय सभा अझ गरिमायुक्त बनाउन सबैसँग सहकार्य गरी अघि बढ्ने उनको भनाई छ ।
 

टिप्पणीहरू