कूटनीतिक नियोग र विकास साझेदारसँग प्रधानमन्त्रीको यस्तो अपेक्षा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूले सकारात्मक भूमिका खेल्ने अपेक्षा गर्नुभएको छ ।
यहाँस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई आज सम्बोधन गर्दै उहाँले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न आग्रहसमेत गर्नुभयो । 'लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौँ, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्रतिनिधिबीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य श्रृङ्खलामा लगानी बढाउन र नेपाली उत्पादन एवं सेवालाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्न सम्मेलन फलदायी हुने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।
'लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरू लगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ', उहाँले भन्नुभयो ।
सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिने बताउनुभयो ।
टिप्पणीहरू