कोशीको किचलो गण्डकीमा सर्यो, रिट बोकेर कांग्रेस नेता सर्वोच्चमा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट आज रिट दायर गरिएको हो । सभामुखको समेत संख्या जोडेर बहुमत पुर्याई खगराजले मुख्यमन्त्रीमा दाबी गरेकाले उनको नियुक्ती बदर गर्न रिटमा माग गरिएको छ ।
नेकपा माओवादी केन्द्रको हुँदै नभएको संख्यालाई समेत जोडी संख्या पुगेको भनि देखाइएको कार्य प्रथमदृष्टिमै गैरकानुनी र त्रुटिपूर्ण रहेको जिकिर गर्दै पाण्डेले उत्प्रेषणको आदेशले नियुक्ति बदर गर्न माग गरेका छन् । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलको नेतासमेत रहेका पाण्डेले आफूलाई मुख्यमन्त्री पदमा नियुक्ती गराउन परमादेश पनि मागेका छन् ।
खगराजले एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादी छोडी स्वतन्त्र बनेका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । त्यसपछि प्रदेश प्रमुख भट्टले उनलाई आइतबार मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
सर्वोच्च अदालतले भने यसअघि नै सभामुखको समेत संख्या जोडेर मुख्यमन्त्रीमा गरिएको दाबीलाई असंवैधानिक भनेर व्याख्या गरिसकेको छ । कोशी प्रदेशका तत्कालीन सभामुख बाबुराम गौतमको समेतको हस्ताक्षरमा बहुमत पुर्याई नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएकोमा सर्वोच्चले गैरसंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका थिए ।
टिप्पणीहरू