अन्तत: कर्णालीमा कँडेलको भाग्य खुल्यो

अन्तत: कर्णालीमा कँडेलको भाग्य खुल्यो

एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।  

प्रदेश प्रमुख तिलक परियारले उनलाई आज अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि कँडेलले २३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । 

 उनलाई माओवादी केन्द्रका १३, एमालेका ९ र एकीकृत समाजवादीका एक सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सांसद चाहिन्छ ।

गत चैत २१ गते राजकुमार शर्माले राजीनामा दिएपछि प्रदेश प्रमुख परिवारले आज साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए । तर, गठबन्धनमा मन्त्रालय भागबण्डाको कुरा नमिल्दा कंडेलले मुख्यमन्त्री दाबीमा ढिलाई भएको हो ।

प्रदेशसभाको अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुने प्रयासमा रहेका कँडेल तत्कालीन नेकपा हुँदै एमालेको विभाजनका कारण असफल भएका थिए । २०७९ को निर्वाचनलगत्तै पुन: मुख्यमन्त्री हुने उनको प्रयास थियो । तर, केन्द्रीय भागबण्डाअनुसार माओवादीको भागमा परेपछि कँडेलको प्रयास असफल भएको थियो । 

यस पटक पनि माओवादीभित्रको आन्तरिक किचलोले कँडेलको सत्तायात्रा झन्डै रोकिने स्थितिमा पुगेको थियो । माओवादीले मन्त्रालयमा भागबण्डामा कुरा नमिलेसम्म सरकारमा नजाने अडान राखेको छ ।

टिप्पणीहरू