रेशम चौधरी अन्ततः रञ्जिताकै लाइनमा

रेशम चौधरी अन्ततः रञ्जिताकै लाइनमा

नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको आज बसेको बैठकले नयाँ गठबन्धनमा जाने निर्णय गरेको बताइएको छ ।

धनगढीमा बसेको बैठकले पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने शर्तमा नयाँ सत्ता समीकरणमा जाने निर्णय गरेको संसदीय दलका नेता कैलाश चौधरीले बताए । 

उक्त प्रदेशमा बहुमतको सरकार गठनका लागि आवश्यक २७ जना प्रदेश सभा सदस्यमध्ये उन्मुक्तिको भूमिका निर्णायक देखिन्छ । त्यहाँ नेकपा (माओवादी केन्द्र) का १०, एमालेका १०, उन्मुक्तिका छ र नेकपा एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्य छन् । 

पार्टी संरक्षक रेशमलाल चौधरीकोसमेत उपस्थितिमा उक्त निर्णय गरिएको बताइएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नयाँ गठबन्धनमा जाने चाहना राखेपनि संरक्षक चौधरीले पूरानै गठबन्धनमा अडिग थिए ।

नेपाली काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेपछि चैत २२ गते राजीनामा दिएका हुन् । नयाँ मुख्यमन्त्री नियुक्तिको समय सीमा आउँदो वैशाख २ गतेसम्म तोकिएको छ । उक्त समयभित्र दुई वा दुईभन्दा बढी दलले आवश्यक बहुमत जुटाएर मुख्यमन्त्री दाबी गर्नुपर्ने छ ।

टिप्पणीहरू