अधिवेशनमा बिधि मिचिएको भन्दै एमाले नेताले पार्टी छोडे

अधिवेशनमा बिधि मिचिएको भन्दै एमाले नेताले पार्टी छोडे
सुन्नुहोस्

नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले पार्टी परित्याग गरेका छन् । जिल्ला अधिवेशनका क्रममा नेतृत्वले देखाएको गुटगत रवैयाको आलोचना गर्दै उनले पार्टी छोडेको घोषणा गरेका हुन् । 

पार्टी छोडेको जानकारी गराउन कटुवालले एमाले कोशी प्रदेश कमिटीलाई सम्बोधन गर्दै लेखेको पत्रमा आफ्नो ३४ वर्षको राजनैतिक जीवनमा यो हदसम्मको विधि र पद्धतिविहीनता अनुभूति नगरेको उल्लेख गरेका छन् । अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष समेत रहेका उनले गुट उपगुटका कारण आफूलाई निरिह बनाइएको गुनासोसमेत गरेका छन् । 

‘दशौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धतिविहीनता अनुभूति गरेको थिइनँ’, पत्रमा लेखिएको छ ।

एमाले ओखलढुङ्गाको दशौँ जिल्ला अधिवेसन हिजो सम्पन्न भएर नयाँ कार्यसमितिसमेत निर्वाचित भैसकेको छ । तर, त्यसअघि निर्वाचन समितिलाई प्रतिनिधिहरुको नाम टुंग्याई मतदाता नामावली प्रकाशित गर्ने चरणमा पुगेपछि विवाद शुरु भएको थियो । 

नेतृत्व गुट उपगुटमा विभाजित भई पार्टी सदस्य संख्या, उनीहरुको बैधानिक क्षेत्राधिकार र प्रतिनिधिहरुको बैधानिकताको बखेडा झिकी निर्णय गर्न र प्रमाणीकरण गर्न पाउने आफ्नो अधिकार कुण्ठित गरेको कटुवालले बताएका छन् । 

'मैले गरेको पार्टी योगदानको अर्थ र औचित्य नै नदेखेपछि जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा पेस गरेको छु', राजीनामा पत्रमा उनले लेखेका छन् ।

टिप्पणीहरू