बालुवाटारमा भारतीय उद्योगपतिहरुको टोली

बालुवाटारमा भारतीय उद्योगपतिहरुको टोली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेको भारतीय उद्योग परिसंघका पदाधिकारीहरुले भेट गरेका छन् । भारतीय उद्योग परिसंघका सभापति सञ्जीव पुरीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग उहाँको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेकोे छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । उहाँले विदेशी लगानीकर्ताको सहजताका लागि सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको जानकारी गराउनुभयो । विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

उक्त प्रतिनिधिमण्डलले हिजो अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो । सबै भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको भारतीय टोली काठमाडौं आएको हो । पुरी वार्षिक साधारण सभामा मुख्य वक्ता थिए । प्रतिनिधिमण्डलमा भारतका छ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृत समेत छन् ।


 

टिप्पणीहरू