पैसाले मात्रै चर्चित बनिन्न नि डाक्टर सा’ब

पैसाले मात्रै चर्चित बनिन्न नि डाक्टर सा’ब

– देवकी बिष्ट

 दृश्य नं १ : हरे भगवान्, कुन जन्ममा पाप गरेको रहेछु– यसो भनिरहँदा उनी काँपिरहेकी थिइन् । कुचुक्क परेको सानो कोठामा तीन जना पनि अटाउँदैनथे । पालैपालो तलको कपडा खोलेर उभिनुपर्ने थियो । महिला वा युवतीलाई तलको कपडा खोल्न र एउटा  र्‍यापर (कपडा) बेर्न भनियो । भित्र बोलाइएका जति सबै कपडा खोलेर उभिए । केहीलाई माथिल्लो तलामा बोलाइयो । 

दृश्य नं. २ः उनलाई बस्न पनि असहज भइरहेको थियो । मुहार लुकाउन खोजिरहेकी थिइन् । बेला–बेला मास्क सारिरहेकी थिइन् । तर, उनको बसाइ र आँखामा पीडा प्रष्ट झल्किन्थ्यो । २०–२५ वर्षकी र मंगोलियन मुहारकी युवतीले सोधिन्– ‘तपाईंको के भयो ? कति लाग्यो ?’ उनले सोफाबाट उठ्दै गर्दा रकम भनिन् ।

ती युवती झस्किइन्– ‘हो र ? १० लाख रे ?’ नजिकै सुदूरपश्चिमकी महिला आइन्, भाग्य खोटो भएपछि यसै हुन्छ भन्दै । अब के के हुने हो ? म पनि सँगै बसेकी थिएँ । भनें– ‘अहिले पाँच लाख ल्याउन अफ्ठ्यारो होला । घरमा सम्झाउनु, अर्को बिहे गरेर गहना, लुगा, आजीवन पालनपोषण जोड्दा योभन्दा बढी खर्च हुन्छ । बरु त्यो पैसाले उपचार गरौं ।’ एकछिन निरास भएकाहरू २–३ जना हाँसे तर उनीचाहिँ हाँसिनन् । यति भए पनि कहाँबाट ल्याउने होला भन्दै निराश भइरहिन् ।

त्यहाँ तीन प्रकारका महिलाको उपस्थिति थियो । एउटा अंग्रेजी बोल्ने र फटाफट काम हुने, एउटा चुप लागेर कुनामा कहिले पालो आउँछ भनी कुर्दै बस्ने र अर्को के कसो गर्ने भनेर अलमलमा परेका । केही खुशी थिए, जसको टेष्टट्युब सफल भयो । केही निराश थिए, जसको पैसा गयो । दुःख पनि पाए । केहीचाहिँ कोशिश असफल भएपछि के गर्ने भन्ने तनावमा देखिन्थे । उनीहरु डाक्टरलाई भगवान् मानेर केही बुझ्न खोजिरहेका थिए ।

मनमा डर थियो, रिसाउने पो हुन् कि भन्ने ! प्रायः सामाजिक सञ्जालको सर्ट स्टोरी हेरेर र मिडियामा चाहिनेभन्दा बढी प्रचारप्रसार सुनेर आएका थिए । ती भन्दै थिए– ‘बोल्न फुर्सद नै नहुने रहेछ । सोध्दा पनि राम्रोसँग बोल्नुहुन्न ।’ मैले सुनेको थिएँ– उपचारको क्रममा २५ प्रतिशत रोग त डाक्टरको व्यवहार र बोलीले पनि निको पार्छ । एउटी युवती भन्दै थिइन्– ‘म पैसा तिरेर आएको हो ।

युरिनमा इन्फेक्सन भएको देखियो तर डाक्टर नूतन केही नभनी उठिन् । म कन्भिन्स (नबुझेसम्म) भइन । डाक्टर उठे पनि सिटबाट उठिन । डाक्टर मतिर फर्किन् । थोरै काउन्सिलिङ गरेर गइन् । काठमाडाँैमा खुलेका आइभिएफ सेन्टरका डाक्टरलाई अहिले आफूकहाँ आएका महिलासँग बोल्ने फुर्सद छैन । पैसा नकमाउञ्जेल राम्रो व्यवहार देखाउँछन् । अलि समय दिन्छन् । पैसा कमाउन थालेपछि सबै बिर्सन्छन् र दिनमा कति पेसेन्ट हेर्ने, त्यति मात्रै ध्यान हुन्छ ।

केही बोल्यो डाक्टर नुतनझैँ कराउँछन् । अस्पतालमा हतास, दिक्क, डर र उत्साह हेर्दाहेर्दै म भने कल्पना गर्दै थिएँ– कति धेरै झुटा बोलेर, सामाजिक बाधा पार गर्दै यिनको (डाक्टर) दर्शनका लागि यहाँ आएका होलान् । तर, डाक्टरसँग एक पटक चिन्ता नगर, म प्रयास गर्छु भनेर नरम बोल्ने समय पनि छैन । समाजमा सन्तान नहुँदाको पीडा त्यहाँ आएका हैरान महिलाबाहेक कसलाई थाहा होला र ? अझै आर्थिक रूपले सबल नभएका महिलाले श्रीमान्सँग कति अनुरोध गरे होलान् ? घरमा सासू, ससुरासँग कति झुट बोल्नुपर्‍यो  होला ? समाजसँग बाँझोपनको उपचार गर्न जाँदै छु भनेर कसरी लुकाए होलान् ? काठमाडाँैमा अहिले गर्भको व्यापारी जथाभावी खुलेका छन् । कुनै आइभिएफ सेन्टरले हामी डिस्काउन्ट दिन्छौँ भनेर आफूतिर तान्छन् भने कतिले सामाजिक सञ्जालमा आफ्नो सफल केसका तस्बिर, भिडियो देखाएर, मीठो बोलेर आकर्षित गर्छन् ।

केहीले मिडियामा विज्ञापन दिएर लेख्न लगाउँछन् र गर्भको व्यापार गर्छन् । केही आइभिएफ सेन्टरले टेलिभिजनद्वारा पाँचतारे होटलमा आयोजित कार्यक्रममा पैसा तिरेर हामीले यस्तो गरेका छौं भनी झुटा प्रचार गरेको समेत देखेकी छु । तर हजार दुःख पाएर सन्तान प्राप्तिको खुशीका लागि आउने महिला शारीरिक र मानसिक रूपले पनि निकै कमजोर हुन्छन् भनेर किन बुझ्दैनन् डाक्टरहरू ? अस्पतालका व्यवस्थापकले पैसा कमाउँदै जाँदा मानवता किन हेर्दैनन् ? 

म ओभरीको लेफ्ट र राइट साइड दुखेर थापाथलीको नर्भिक अस्पतालमा निकै चर्चित डाक्टर नुतनसमक्ष पुगेकी थिएँ । वरिष्ठ प्रसूति तथा बाँझोपन विशेषज्ञ केही दिन बिदामा भएकाले उनको टिमका दुई जना डोल्मा र शान्तिसँग भेट भयो । इन्फेक्सन देखिएकाले युरिन कल्चरको प्रकिया पूरा गरें । टिभिएस अर्थात भिडियो एक्सरे चर्चित डाक्टर नुतन आएपछि हुने भनियो । मंगलबार १३ गते उनी आउने जानकारी थियो । कारणवस आउन पाइनन् । बुधबार दिउँसो १ः३० बजे बोलाइयो । समयमै पुगें । सानो कुचुक्क परेको ठाउँ । सन्तानको आशा बोकेका धेरै महिला सिँढीदेखि लाइनमा थिए । जब डाक्टरको दर्शन पाउँथे, निराशा बोकेर बाहिर आउँथे र भन्थे– ‘बोल्दै बोल्दिनन् । यत्रो पैसा तिरेर पनि बोल्न अझै पैसा लाग्नेजस्तो गर्छिन् । भिडियोमा देखेजस्तो छैन उनको पारा ।’ 

म पनि प्राइभेट अस्पतालमा भनेअनुसारको सुविधा हुन्छ भनेर अफिसको लञ्च आवरमा त्यहाँ पुगेकी थिएँ । दिउँसो ३ बज्दा पनि पालो नआएपछि अब त भएन भनेर सम्बन्धित सिनियर नर्सलाई सोधेँ । उनले अझै टिभिएस शुरु भएको छैन । भोलि आउनुस्, तीन घण्टाको समय लिएर भनिन् । अफिस ढिला भइरहेको थियो । तेस्रो दिन दिउँसो १ बजेर ३० मिनेटमै पुगें । मलाई २ बजेर ५० मिनेटमा भित्र कुचुक्क परेको स्ट्रेचरमा सुताइयो । 
सबै हतास थिए । चर्चित डाक्टर आइन् ।

नर्सदेखि एकजना डाक्टर पनि पोजिसनमा उभिए । तल कपडा खोलेर उभिएका महिलाहरू टक्क उभिएर कुनाबाट हेरिरहे । उनले मेरो टिभिएस गरिन् । मैले लुगा लगाउँदासम्म कहाँ पुगिन् थाहा पाइएन । डाक्टर कहाँ हुनुहुन्छ भन्दा तपाईं बाहिर जानुस्, रिपोर्ट आएपछि भन्छौँ भने । हवस् भनेर निस्किएँ । नर्स आइन् र रिपोर्ट नर्मल छ । औषधि खानुस् भनिन् । मैले भनें रिपोर्ट नर्मल आयो तर एक वर्षदेखि दुखिरहेको छ । डाक्टरसँग कुरा गर्न पाए हुन्थ्यो । महँगो शुल्क तिरेर गएको थिएँ । एक पटक सल्लाह पनि गर्न पाइनँ । न समयको महत्व, न व्यवस्थापन, न त राम्रो सुविधा । घण्टाँै चर्चित डाक्टरको दर्शन गर्न कुर्नुपर्ने अनि बाहिर सवारी साधनले पनि घण्टा हानिरहेको हुने । चर्चित अस्पताल छ तर त्यहाँ आउने मानिसलाई पार्किङको व्यवस्था छैन । 

धेरै महिलाका लागि आइभिएफ सेन्टर वरदान भएका छन् ।  तर यसैको नाममा कति कुरा दान गरेका छन् भनेर व्यापारीले कहिल्यै सोच्दैनन् । आइभिएफको व्यापार अहिले निकै फस्टाएको छ तर यो व्यापारसँगै भावना गुम्सिएको छ । सन्तान नहुँदाको पीडा खेपिरहेका दम्पतीले न आफ्नो पीडा बाहिर भन्न सक्छन्, न त विरोध नै गर्न सक्छन् । अहिले काठमाडाँैमा खोलिएका आइभिएफ फर्टिलिटी सेन्टर बबरमहलको होस् वा थापाथली वा नक्साल– सबैतिर चर्को मूल्य कमाउने खेलमा देखिन्छन् । 

टिप्पणीहरू