सकियो पहिलो चरणको चुनाव, दिल्लीका मुख्यमन्त्रीले आँप खाएपछि अर्को तनाव

सकियो पहिलो चरणको चुनाव, दिल्लीका मुख्यमन्त्रीले आँप खाएपछि अर्को तनाव
सुन्नुहोस्

भारतमा लोकसभा निर्वाचनका लागि पहिलो चरणको मतदान सम्पन्न भएको छ । आज २१ राज्यमा एक सय २ सिटका लागि मतदान भएको छ ।

पहिलो चरणको चुनावमा एक हजार ६२५ उम्मेदवार मैदानमा छन् । मतदान समय बिहान ७ बजेदेखि साँझ ६ बजे तोकिएको थियो ।

दोस्रो चरणको मतदान अप्रिल २६ मा हुँदै छ । त्यतिबेला १३ राज्यका ८९ सिटमा मतदान हुने छ ।

भारतमा आजदेखि सुरु भएको निर्वाचनलाई संसारमा हालसम्मकै सबैभन्दा ठूलो चुनाव दाबी गरिएको छ । भारतमा करिब एक अर्ब ४४ करोड जनसंख्यामध्ये ९७ करोड मतदाता छन् । 

विभिन्न चरणमा आगामी १ जुनसम्म मतदान हुँदैछ र ४ जुनमा मतगणना हुने बताइएको छ । 

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट जित्नु आवश्यक हुन्छ । अघिल्लो चुनावमा भारतीय जनता पार्टी ३०३ सिटमा निर्वाचत भएको थियो ।  

भाजपाले यस पटक पनि बहुमत ल्याए प्रधानमन्त्री नरेन्द्र मोदी पुनः तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने छन् । यद्यपि, काँग्रेससहितका अन्य ठूला दलहरु मोदीको उक्त प्रयास विफल पार्न लागेको पाइन्छ । 

उता तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी)ले फलफूलको भोजनमा रोक लगाउने प्रयास गरेपछि नयाँ तरंग पैदा भएको छ । 

केजरीवालले आफ्नो डायबेटिज बढाउन जानी जानी आँप खाएको भन्दै इडीले तिहाड प्रशासनलाई आँपको सेवनमा प्रतिबन्ध लगाउन निर्देशन दिएको बताइन्छ । यद्यपि, तिहाड प्रशासनले भने अहिलेसम्म आफूहरुले आँप उपलब्ध नगराएको र घरको खानामा आएको हुनसक्ने बताएको छ । 

आम आदमी पार्टीका नेता तथा समर्थकहरुले भने केजरीवाललाई जेलमा मानसिक तथा भौतिक यातना दिएको भन्दै आक्रोश पोखेका छन् । प्रधानमन्त्री मोदीकै निर्देशनमा जेलभित्रै केजरीवाललाई फलफूल खान नदिएर हत्याको योजना बुनिएको आपका समर्थकहरुको आरोप छ । 

केजरीवालले पनि आफूलाई जेलमा खुंखार अपराधीको व्यवहार भइरहेको बताएका छन् । भनेका छन्, ‘के म कुनै ग्याङस्टार हुँ ? ममाथि किन यस्तो व्यवहार भइरहेको छ ? मैले मेरो डाक्टरको सल्लाह अनुसार खान पनि नपाउनु ?’

टिप्पणीहरू