बजारको माग अनुसार उत्पादन गर्नै मुस्कील राम्चेको चिज

बजारको माग अनुसार उत्पादन गर्नै मुस्कील राम्चेको चिज राम्चे डेरी तथा चिज उद्योगमा तयारी अवस्थामा भण्डारण स्थलमा राखिएको चिज
सुन्नुहोस्

हिमाली जिल्ला म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चे उत्पादन हुने चिजलाई बजार धान्नै मुस्कील भएको छ । वजारमा माग उच्च भएकोले माग अनुसार आपुर्ति गर्न नसक्दा अहिले निकै गाह्रो भएको छ । २०७२ देखि शुरु भएको राम्चे डेरी तथा चिज उद्योगले अहिले बजारको माग पुर्‍याउन नसक्दा समस्या भएको हो ।

हिउँदको समयमा दुध संकलन नहुने भएकाले चिज उत्पादन नहुने तर माग उच्च हुने गरेको उद्योगका सञ्चालक यामबहादुर पुनको भनाई छ । उहाँ भन्नुहुन्छ–‘अहिले दैनिक ६५ लिटर दुध संकलन हुन्छ तर त्यती दुधको चिज उत्पादन गरेर खर्च पनि उठ्दैन र बजारमा पठाउनै सकिदैन त्यसैले हरेक दुई दिनमा चिज बनाउने गर्छु ।’ एक केजी चिज उत्पादनका लागि १३ लिटर गाइको दुध आवश्यक पर्ने भएकाले दुई दिनको दुध भयो भने झण्डै १० केजी चिज उत्पादन हुन्छ–उहाँले भन्नुभयो । अहिले पर्यटकीय सिजन भए पनि घाँस उत्पादन कम हुने र गाइको दुध पनि कम आउने भएकाले बजारको माग अनुसार चिज उत्पादन गर्न नसकिएको उहाँको भनाई छ । 

राम्चेकी प्रेम कुमारी गर्बुजा बिहान ४ वजे उठ्नु हुन्छ अनि गाइको स्याहार गरेर गाइ दुहुनुहुन्छ । गाइको दुध अहिले दैनिक राम्चे डेरी तथा चिज उद्योगमा लैजानुहुन्छ । बिहान ६ बजे उद्योगमा दुध पुर्‍याउनु पर्ने भएकोले ४ बजे उठेर घाँसपात कुँडोफाँडो गर्नु पर्ने गर्बुजाको भनाई छ । दुधको गुणस्तरको आधारमा प्रतिलिटर ६५ देखि ६८ रुपियाँ मुल्यमा दुध गाउँमै बिक्री गर्नु पाउँदा राम्रो भएको उहाँ सुनाउनु हुन्छ । गाउँमा दुध बाँड्ने वा दही बनाएर मोही पारेर खाने बाड्ने बानी परेका हामी २०७२ देखि शुरु भएको चिज उद्योगले खरिद गर्न थाले पछि गाउँमै पनि आम्दानी गर्न पाइएको छ–गर्बुजाको कथन छ । उहाँ भन्नुहुन्छ–सिजनमा घाँसपात पाउँदा १५ लिटर सम्म दिनमा दुध बेच्थे अहिले घाँसै पाउँदैन दिनमा पाँच लिटर बेचेको छु ।

अर्का कृषक चित्र गर्बुजाको पनि अनुभव उस्तै छ । अहिले तीन वटा गाइ पाल्नु भएका उहाँले दैनिक रुपमा चिज उद्योगमा दुध पुर्‍याउने गर्नुहुन्छ । समुद्री सतह देखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको राम्चेमा दुध विक्री गर्ने भन्ने कल्पनै थिएन तर चिज उद्योग शुरु भएपछि नियमित रुपमा दुध बेच्न पाएको उहाँले सुनाउनु भयो । 

७ लाख रुपियाँको लागतमा २०७२ देखि शुरु भएको चिज उद्योगमा अहिले एक दिन विराएर १० केजी चिज उत्पादन भै रहेको सञ्चालक पुनको भनाई छ । भारतीय सेनाबाट सेवा निवृत्त भएर केही वर्ष अफगानिस्तान पुग्नु भएका उहाँले त्यहाँबाट फर्केर चिज उद्योग सुरु गरेको बताउनुुहुन्छ । बाहिर गएर मेहनत गर्नु भन्दा आफ्नै मुलुकमा काम गरेर परिवार सँगै बस्न पाइने भएकोले उद्योग सुरु गरेको र परिवारकै सहयोग र साथमा अहिले सम्म चलेको उहाँको अनुभव छ । वर्षामा दुध दुई सय लिटर भन्दा बढी संकलन हुने भए पनि हाल कम हुँदा एक दिन बिराएर चिज उत्पादन भएको उहाँ बताउनुहुन्छ ।

अहिले उत्पादन हुन नपाउँदै बजार पठाउने गरेको उहाँ सुनाउनुहुन्छ । चिज तयार गरेको तीन महिना पछि मात्र बिक्री गर्दा राम्रो हुने भएपनि हाल त्यसरी स्टक गर्नै नपाइएको उहाँ सुनाउनु हुन्छ । उत्पादीत चिज पर्यटकीय स्थल घोडेपानी तथा तातोपानी, बेनी लागायतको क्षेत्रमा उच्च माग भए पनि माग अनुसार पुर्‍याउनै नसकिएको उहाँले सुनाउनुभयो ।

टिप्पणीहरू