प्रधानमन्त्री र एमाले अध्यक्षको एउटै लाइन, कम्युनिष्ट एकता तत्काल ‘असम्भव’

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कम्युनिष्ट एकता सम्भव नभएको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्षको अवसरमा गोदावरीमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थामा कम्युनिष्टहरुबीच सहकार्य हुनसक्ने तर एकता हुन नसक्ने धारणा राख्नुभएको छ ।

‘विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ । पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा छैनौँ’, उहाँले भन्नुभयो, ‘अहिले सहकार्य थालेका छौँ । राम्रो सहकार्य गरौँ यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भने राजनीतिक दलहरुबीच एकताको आधार तय हुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि तत्काल एकता सम्भव नरहेकाले सहकार्यको माध्यमबाट निकट हुँदै जान सकिने बताउनुभएको छ । उहाँले एमालेको निम्ति पार्टी विभाजन अत्यन्त हानिकारक भएको पनि स्वीकार गर्नुभयो । 

‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको बाटोमा पुग्न सक्छौँ’, अगाडि भन्नुभयो, ‘तर अहिले नै देशभरिका मिलौँ भन्यो भने किन फुटेका थियौ ? के भएर फुटेका थियौ ? यस्ता प्रश्न उठ्न सक्छन् ।’

टिप्पणीहरू