पहिला मरिहत्ते, पछि नमस्ते

पहिला मरिहत्ते, पछि नमस्ते
सुन्नुहोस्

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको किटानी जाहेरी परेका नुर्बु (नोर्बु) घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सफाइ दिएको छ । 

नेपाल प्रहरीले लामो अनुसन्धानपश्चात् मुद्दा चलाउनुपर्ने निष्कर्षसहित हिरासतमा रहेका नुर्बुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्नासाथ प्रहरीलाई जिल्लाराम पार्दै सरकारी वकिलहरूले सफाइ दिने निर्णय गरेका हुन् । रसुवाको तत्कालीन यार्सा गाउँ विकास समितिले र हालका नौकुण्ड गाउँपालिकाका नोर्बुले ०७३ सालमा गाउँकै २१ वर्षीया विनिता तामाङ (नाम परिवर्तन) र अर्की एक युवतीलाई कुबेत पठाइदिने भनी सविन शाह भनिनेसँग मिली भारतको नयाँदिल्ली हुँदै श्रीलंका पुर्‍याएका थिए ।

नुर्बुकै सल्लाहमा दुवै जनाले ०७२ साल माघमा पासपोर्ट बनाए । रसुवाकै घरमा बसेकी विनितालाई नुर्बुले २०७३ असार ३१ गते फोन गरी कुबेतका लागि भिसा आयो, तुरुन्तै काठमाडाैँ आउनू भनेपछि विनिता साथीसँगै साउन १ गते नै ठूला सपना सम्हाल्दै काठमाडाैँ आइन् । भिसा आइसक्यो तुरुन्त आऊ भनेका नुर्बुले दुई युवतीलाई एक महिनाजति कपनस्थित उनकै निवासमा राखे । त्यसपछि तिमीहरूको भिसा दिल्लीमा आइसक्यो, अब दिल्ली जानुपर्छ, त्यहाँ धेरै दिन बस्नुपर्दैन भने । भोलिपल्टै बिहान ८ बजे उनले ट्याक्सी बोलाई चालकलाई यी बहिनीहरूलाई स्वयम्भू पुर्‍याएर दिल्ली जाने बस चढाइदिनू भनी अह्राए ।

त्यति नै बेला उनले सविन शाह भन्ने मानिसलाई दिल्लीमा फोन गरी दुई जना बहिनी आउँदै छन् बसपार्कमा लिन आउनु र कुबेत पठाउने व्यवस्था गर्नू भनी निर्देशन पनि दिए । यसपछि उनले एक हजार रूपैयाँ खर्च दिएर युवतीहरूलाई बिदा गरे । ट्याक्सी चालकले स्वयम्भूबाट दिल्ली जाने बस चढाए र उनीहरू दिल्ली बसपार्कमा झरेपछि सविनले पठाएको गाडीले महिपालपुर भन्ने स्थानमा पुर्‍यायो । राम्ररी नेपाली पनि बोल्न नआउने विनिता अलिअलि हिन्दी बोल्न जान्ने अर्की साथी भएकाले वातावरण सहज बनेको थियो । 

महिपालपुरमा उनीहरू लक्ष्मी नामक मानिसले भाडामा लिएको घरमा पुग्दा अरू १६÷१७ जना नेपाली महिला पनि विदेश जानकै लागि कुरिरहेका थिए । त्यहाँ १० दिन बस्दा पनि कुबेतको भिसा आएन । दिनहुँ आइरहने सविनले भिसा दिल्लीमा नआउने भयो, अब श्रीलंका जानुपर्छ भने । आज भोलि भन्दाभन्दै अलपत्र अवस्थामा रहेका महिलालाई सविनले भिसा उतै आइसक्यो, त्यहाँ त एक दिन मात्र बस्ने ट्रान्जिट जस्तै हो भोलिपल्ट नै कुबेत उड्ने पक्का भएको बताए । विनिता, उनकी साथी र अरु ६ जनालाई प्लेनको टिकट दिँदै अध्यागमनमा सोधेमा कोलम्बोमा बुद्धको दर्शन गर्न १० दिने पर्यटक भिसामा आएको भन्नुपर्ने बताए ।

हिलटप्स डिलक्स होटलको नाम लिन पनि भने । श्रीलंका झरेपछि बाबा भनिने श्रीलंकन नागरिक अलि अक्सले सबैलाई भ्यानमा राखी अढाई घण्टा टाढा लग्यो । त्यहाँ ९० जनाजति महिला थिए । पासपोर्ट अक्सले खोसेर राख्यो । केही बोलेमा वा सोधखोज गरेमा यो नेपाल होइन भनी कुटपिट गथ्र्यो । पेटभरि खान पनि नपाइने र भुइँमा सुत्नुपर्ने अवस्था थियो । विनिताले जिन्दगीमा नराम्ररी फसेको महसुस गरिन् । आधा पेट खाना र चिसो भुइँको बसाइमा डेढ महिना बित्दा पनि भिसा आएन । नेपालमा फोन गर्न पाइँदैनथ्यो, सबै जनालाई अक्सले बन्धक बनाएका थिए । एक जना महिलाले कि मलाई फर्काइ दे, कि कुबेत पठा, हैन भने भोकै बसेर आत्महत्या गर्छु भनी अक्सलाई धम्क्याइन् ।

खाना खान छाडेको केही दिनपछि ती महिलालाई नेपाल फर्काउन लागेको थाहा पाएपछि उनैमार्फत सबैको अवस्था नेपालमा बताउन र त्यहाँबाट छुटाउन सबैले अनुरोध गरे । ती महिला नेपाल आएर सविनलाई फोन गरी विनितालाई कुबेत हैन नेपालमै फर्काइदेऊ भन्दा सविनले मैले उसका लागि लगानी गरेको १ लाख पहिले फिर्ता गर्न लगाऊ अनि मात्र नेपाल फर्काइदिन्छु भनेर फोन राखिदिएको ती महिलाले विनितालाई पछि बताइन् । ती महिला नेपाल फर्किएपछि श्रीलंकामा बन्धक बनाइएका महिलाबारे सञ्चारमाध्यममा समाचार आए ।

बन्धक बनाइएका नेपाली महिलाका समाचारबारे आक्सलाई गिरोहले बताएपछि उसले सबैलाई पहिले राखिएको ठाउँबाट अझै टाढा लगेर बन्धक बनायो । अवस्था अझै नाजुक र जिन्दगी झन् अनिश्चित बन्दै गएपछि मरता क्या नहीँ करता भनेझैँ १७ जनाले हामीलाई पासपोर्ट चाहिँदैन अब जसरी पनि प्रहरीकोमा जान्छौँ भनेर विद्रोह गर्ने तयारी गरे । त्यसपछि आक्सले तिमीहरूको भिसा आएको छ भन्दै एयरपोर्ट पुर्‍याई पासपोर्ट र नेपाल फर्कने टिकट थमाइदियो । त्यसपछि महिनौँदेखि दिल्ली र श्रीलंकामा बन्धक जीवन बिताउने नेपाली चेलीहरू बैंकक हुँदै नेपाल फर्किए ।

नेपाल आएपछि माइती नेपालको सहयोगमा विनिताले कुबेतमा जागिरका लागि पठाउने भन्दै हण्डर खुवाउने नुर्बु, सविन, भारतीय लक्ष्मी र श्रीलंकन आक्सविरुद्ध मानव बेचबिखन र ओसारपसारमा प्रहरीमा जाहेरी दिइन् । सविनविरुद्ध यस्ता १७ वटा जाहेरी परेका थिए । पाँच वटामा अनुसन्धान गरी उसलाई ३ वर्ष कैद तोकियो ।

नुर्बुको जाहेरीमा प्रहरीले लामो अनुसन्धान गरी पक्रिएर मुद्दा चलाउनुपर्ने निष्कर्षसहित सरकारी वकिल कार्यालयमा लिएर गयो । तर, जानासाथ सरकारी वकिलहरूले नुर्बु निर्दोष रहेको निष्कर्ष निकाली छाड्ने निर्णय गरिदिए । उनी यही वैशाख २१ गते शुक्रबार छाडिएका छन् । सरकारी वकिलले नुर्बुलाई भिसा नै नआई आयो तुरुन्तै काठमाडाैँ आऊ भनेर गाउँकै दुई युवतीलाई एक महिनासम्म किन राखेको ? भारतीय राजधानी दिल्लीमा तिमीहरूको भिसा आइसक्यो, तुरुन्तै जाऊ भनी दिल्ली किन पठाएको ? दिल्लीबाट अब श्रीलंकामा भिसा आइसक्यो, उतैबाट कुबेत उड्नुपर्छ भनी श्रीलंकामा पुर्‍याई डेढ महिनासम्म बन्धक किन बनाएको ? भनेर सोधेनन् । सविनले विनिताका लागि १ लाख लगानी गरेको त्यो फिर्ता भएपछि मात्र छाडिदिन्छु भनेको बारेमा पनि सरकारी वकिलले आँखा चिम्लिएका छन् । सविनले विनिताका लागि लगानी गरेको १ लाख रकम कसलाई दिएको थियो ? यी र यस्ता थुप्रै अनुत्तरित प्रसंगको जवाफ खोज्ने काम जनतालाई न्याय दिन राज्यले खटाएका सरकारी वकिलको हो कि होइन ? 

प्रहरीको तर्फबाट अनुसन्धान गरी मुद्दा चलाउने रायसहित प्रतिवेदन पेश गरियो । सरकारी वकिल कार्यालयले पीडितलाई खोजी उनीसँगै भिडियो कन्फरेन्समा कुरा गरी नुर्बुले केही गरेको छैन, म आफैँ कुबेत जाने भनी श्रीलंकासम्म पुगेको हुँ, भिसा नआएकाले फर्किएको हुँ भनिसकेपछि मुद्दा चलाउनु नपर्ने ठहर गरेको भनेको छ । जाहेरीका सम्बन्धमा विनिताले आफूलाई धेरै कुरा थाहा नभएको माइती नेपालका मानिसले जे–जे भने त्यही मात्र गरेको बताएकी सफाइ निष्कर्षमा उल्लेख गरिएको छ ।

शुरुमा जाहेरी दिएको, पछि अदालतमा न्यायाधीशसामु बकपत्र गरेको र न्यायाधीशले त्यसलाई प्रमाणित गरेकोतर्फ पनि सरकारी वकिल कार्यालयले मौनता साँधेको छ । पीडितलाई आर्थिक प्रलोभन, धम्की, दबाव भएर पो यस्तो अवस्था आयो कि भनी सरकारी वकिलको तर्फबाट विस्तृत अध्ययन/अनुसन्धान गर्नुपर्ने होइन ? प्रहरी निकट श्रोतका अनुसार सरकारी वकिल कार्यालयले सफाइ दिने प्रस्ताव उच्चमा पठाउन र माथिसम्म मिलाउन करोडको कारोबार भएको छ । नुर्बु रसुवाका ठेकेदार नेता मोहन आचार्यका कार्यकर्ता र उनकै पेटी ठेकेदार हुन् । उनी नौकुण्ड गाउँपालिकाका निर्वाचित अध्यक्ष पनि हुन् । यत्तिका मानिसबाट आर्थिक अवस्था कमजोर भएकी र जाहेरीको वर्षौं बितिसक्दा पनि न्याय नपाएको अवस्थामा गाउँमै बस्नुपर्ने पीडितले न्याय पाउने अवस्था राज्यले निर्माण गर्ने हो कि उल्टै नुर्बुमाथि चैँ अन्याय भयो कि भन्ने कोणबाट प्रक्रिया अघि बढाउने हो ? 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू