विप्लवको अर्को बल

विप्लवको अर्को बल
सुन्नुहोस्

‘मान्छे नबिग्री राजनीति बिग्रँदैन’ भन्ने निश्कर्षसहित विप्लव नेतृत्वको नेकपाले अब हुने चुनावमा भाग लिने भएको छ ।

कपिलवस्तुको हल्लानगरस्थित उक्त पार्टीको हेडक्वार्टरमा वैशाखको ८ र ९ गते सम्पन्न बैठकमा उक्त कोणबाट निश्कर्ष निकालिएको हो । महासचिव विप्लवले भनेका थिए, ‘साम्राज्यवाद भुण्डलीकृत छ । त्यस्तो साम्राज्यवाद चुनाव, दल, सरकारदेखि जताजतै घुमिरहेको हुन्छ । त्यसैले त्यो जहाँजहाँ छ, त्यहाँ संघर्ष गर्नुपर्छ ।’ यसो भनेर चुनावी मामिलामा हावी भएको साम्राज्यवादी हस्तक्षेपलाई चिर्नका निम्ति त्यसमा भाग लिने कुरा गरिएको हो ।

पञ्चायतकालमा तत्कालीन मालेले जनपक्षीय हस्तक्षेपका नाममा उम्मेदवार खडा गरेकै शैलीमा विप्लव समूह अगाडि बढेको हो । बैठकमा कुरा उठ्यो, चुनावमा गएपछि संसदीय भासमा फँसिन्छ र पार्टी क्रमशः बुर्जुवाकरणतर्फ जान्छ कि ? यसमा विप्लवको ठम्याइ थियो, ‘मूल नेतृत्व ठीक भए केही बिग्रन्नँ, नेतृत्व नै बिग्रिए केही जोगिन्नँ !’ उनले उदाहरण दिए, प्रचण्डको । ‘प्रचण्ड नै गलत थिए, उनी बिग्रिएका कारण उनको पार्टी नै त्यसै–त्यसै बिग्रियो’, उनको निश्कर्ष थियो । 

संसदीय मोर्चामा सहभागी हुने नाममा वामबाहेक अरू कुनै शक्तिसँग तालमेल, सहकार्य नगर्नेमा पनि उक्त बैठकको निचोड थियो । अर्थात्, कांग्रेस, राप्रपा, रास्वपाजस्ता दलसँग सहकार्य नगर्ने भनिएको छ । समाजवादी मोर्चा र वामपन्थीबीचको विकसित ध्रुवीकरणलाई सकारात्मक भन्दै यस्तो किसिमको सहयात्रालाई अझ व्यापक बनाउनुपर्ने उक्त पार्टीको निर्णय छ ।

इलाममा सो पार्टीको पर्याप्त मत नभए पनि सांकेतिक रूपमा त्यसले वामपन्थीबीचको सहकार्यलाई फलदायी बनाएको पार्टीले ठहर गरेको छ । यदि, माओवादी र उक्त पार्टीले एमालेको उम्मेदवारलाई साथ नदिएको भए चुनाव जित्न मुस्किल पर्ने प्राप्त परिणामबाट देखिएको बैठकको निश्कर्ष थियो । ‘माओवादीसँग चार हजारको हाराहारीमा मत छ भनेर ओलीले भनेका थिए र परिणाम पनि त्यहीअनुसार देखियो’, बैठकमा सहभागी एक नेताले जनआस्थालाई बताए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू