दारा सिंहको त्यो दमदार दनक

दारा सिंहको त्यो दमदार दनक

सन् १९७६ अप्रिल महिना । काठमाडौँका सडकमा ठुल्ठूला पोष्टर देखा पर्‍यो । पोष्टरमा दारा सिंह, उनका भाइ रन्धावालगायत पहलमानको फोटा थिए । दशरथ रंगशालामा हुने उक्त कुस्ती खेललाई ‘वल्र्ड च्याम्पियन कुस्ती प्रतियोगिता’ नाउँ दिइएको थियो । प्रतियोगितामा भाग लिन आएका पहलमानहरूको एउटा समूह बागबजारस्थित ल्होत्से होटल र अर्को समूह पुल्चोकस्थित नारायणी होटलमा बसेका थिए ।

प्रचार यसरी गरिएको थियो मानौं यी दुई समूह एकअर्काको कट्टर विरोधी हुन् । प्रतियोगिताको टिकट रातारात बिक्री भयो, मूल्यभन्दा महँगोमा समेत बिक्यो । दिन ठ्याक्कै सम्झना भएन तर त्यो दिन दारा सिंह र ब्लाक पेन्थर (कालो चितुवाजस्तो देखिने लुगा लगाएका ) को म्याच थियो । प्रतियोगिता साँझको साढे ६ बजे शुरु हुँदै थियो तर सिटमा बस्न नपाउने डरले हाम्रा टोलको एउटा ठूलै समूह २ बजे नै रंगशाला छिरिसकेका थियौँ ।

करिब ४ घण्टा हामी चर्को घाम सहेर बस्यौँ । खानेकुरा लगेका थियौं, त्यहीँ खाँदै बस्यौं, मानौँ हामी पिकनिक मनाउन गएका थियौँ । रंगशाला ३ बजेसम्म खचाखच भरिसकेको थियो । साँझ अँधेरो भइसकेपछि र बत्ती बालिसकेपछि बल्ल खेल शुरु भयो । सायद त्यो दिन ३ वटा खेल अर्थात् ६ जना पहलमान भिडे । खेल सकेपछि राति रंगशालाबाट यति धेरै मान्छे निस्के, मलाई लाग्छ, त्यति मान्छे त्यहाँ कहिल्यै भेला भएका थिएनन् ।

अर्को दिन ब्लाक पेन्थर, रेड कर्पेन्टर, भाइकिङ डि ब्रुट्स, थाम इङ चाङ, रन्धावा, प्रिन्समान सिंह नाउँका पहलमान (प्रतियोगीहरूको नाउँ नमिलेको हुन सक्छ ) भिडे । त्यो दिन हामी रंगशाला प्रवेश गर्नै सकेनौं । त्रिपुरेश्वरस्थित दूरसञ्चारको कार्यालयको छतमा पाइला टेक्ने ठाउँ नभेटेपछि रंगशालाको ठीक पछाडि बन्दै गरेको एउटा घरको छतमा गएर हेरेँ । हेर्दाहेर्दै ठूलो पानी पर्‍यो, हावाहुरी चल्यो, बत्ती निभेर पूरै शहर अन्धकारमा डुब्यो । कतिपयले अन्धकारको फाइदा उठाएर महिला दर्शकमाथि हातपात पनि गरे । अन्धकारमा महिलाहरू चिच्याएको टाढैसम्म सुनिन्थ्यो । हावाहुरी र पानीमा बस्न नसकेर हामी २ तलामाथिबाट हाम्फालेर घर पुगेको सम्झना आजपर्यन्त ताजै छ । जहाँसम्म सम्झना छ, मात्र ३ दिन कुस्ती खेल प्रदर्शन भयो । 

पछि उक्त प्रतियोगिता नभई मिलीभगतमा खेल्न आएको रहस्य पर्दाफास भएपछि र सरकारले कर तिर्न ताकेता गरेपछि अरु खेल प्रदर्शन नै नगरी दारा सिंहलगायत सबै बाह्रैजना पहलमान भारततर्फ भागेको समाचार त्यसबेलाका पत्रपत्रिकामा समाचार प्रकाशन भएको थियो । प्रचार गरिएअनुरूप पहलमानहरू भारत, पाकिस्तान, सिंगापुर, मलेसिया, बेलायत, अमेरिका आदि मुलुकका भनिए पनि सबै जना भारतको एउटै क्लबमा आबद्ध कुस्तीबाजहरू भएको रहस्य खुलेको थियो । स्मरणीय छ, नेपालमा यसअघि ०१८ सालमा दारा सिंहहरू कुस्ती खेल्न आएका थिए । अन्तर्राष्ट्रिय फ्रिस्टाइल कुस्ती प्रतियोगिता भनिएको उक्त प्रतियोगितामा भारत, पाकिस्तान, इरान, अफगानिस्तान, साउदी अरबलगायत मुलुकका पहलमानहरू सहभागी थिए । उक्त प्रतियोगिता तत्कालीन राजा महेन्द्रको आग्रहमा आयोजना गरिएको थियो । प्रतियोगिता राजा महेन्द्र र रानी रत्नले समेत अवलोकन गरेका थिए ।

सन् १९५६ मा भारतको राँचीमा कमनवेल्थ कुस्ती प्रतियोगिता आयोजना गरियो । डिसेम्बर १२ मा रिंगमा दारा सिंह र किङ कोङको नाउँले परिचित अस्ट्रेलियाई पहलमान (जन्म हंगेरी) इमिली सिजजा उत्रने तय भयो । उक्त खेल हेर्न भारत भ्रमणमा रहेका तत्कालीन रुसी प्रधानमन्त्री निकोलाई बुल्गानिन पनि रंगशाला पुगे । त्यसबेलासम्म दारा सिंहले कुस्तीमा ठूलै नाम कमाइसकेका थिए भने किङ कोङ त तहल्का मच्चाइरहेका सुप्रसिद्ध खेलाडी नै थिए । दारा सिंहको उमेर त्यो बेला २८ थियो भने उनको वजन १२५ केजी थियो । उनी ६ फुट २ इञ्च अग्ला थिए भने उनको छाती ५३ इञ्च चौडा थियो । उता, किङ कोङ ४७ वर्षका थिए भने उनको वजन २१० केजी, अनि ६ फुट अग्ला । किङ कोङको अगाडि दारा सिंह बच्चाजस्तो देखिरहेका थिए । तर, जब खेल शुरु भयो, दारा सिंहले ३ पटक २१० केजीको किङ कोङलाई नराम्रोसित पछारे । पछिल्लो पटक त दुई हातको बलमा किङ कोङलाई उचाले र हावामा घुमाउन थाले । किङ कोङ मद्दतका लागि चिच्याए । रेफ्रीले त्यसो नगर्न रोक्दै दारा सिंहको नजिक पुगे तर रेफ्री नजिक आइनपुग्दै दारा सिंहले किङ कोङलाई रिंगबाहिर फ्यालिदिए । फिल्मको अभिनेतासमेत रहेका किङ कोङको निधन सन् १९७० मा सिंगापुरमा भयो ।

दारा सिंह कति बलशाली थिए भन्ने कुरोको ज्वलन्त प्रमाण मनोरञ्जनका निमित्त लेखिएको उनी सम्बन्धित कथात्मक कृतिलाई लिन सकिन्छ । हाम्रै देशमा पनि कसैले बल देखायो भने ‘तँ दारा सिंह बन्न खोजेको ?’ भनेर उपमा दिने चलन छ । यिनै दारा सिंहले जब किङ कोङलाई नराम्रोसँग पराजित गरे तब सम्पूर्ण विश्वमा दारा सिंहको बहादुरीको बखान हुन थालियो । दारा सिंह बलवान व्यक्तिको अर्को नाउँ नै बन्न पुग्यो । उनले जीवनमा पुगनपुग ५ सय कुस्ती खेले र सबैमा अपराजित रहे । पछि क्यानाडामा सम्पन्न कमनवेल्थ कुस्ती प्रतियोगितामा क्यानाडाका नामी कुस्ती खेलाडी जर्ज गार्डियन्का र न्युजिल्याण्डका जान डि सिल्वालाई हराउँदै प्रतियोगिताको विजेता बने । यो सन् १९५९ को कुरो हो । भारतको पञ्जाव राज्यको अमृतसरको गाउँ धरमूचकमा सन् १९२८ मा जन्मेका दारा सिंह रन्धावाको बिहे उनीभन्दा उमेरले जेठी कन्यासित भयो । उनकी आमा बलवन्त कौरले छोरो समयमै जवान बनुन् भन्ने उद्देश्यले दिनहुँ पिसेको बदाम मक्खनमा घोलेर र भैंसीको दूध पिलाउन थालिन् । नतिजा, नाबालिग उमेरमै दारा सिंह छोराको पिता बने । साथसाथै उनको शरीर तन्दुरुस्त बन्यो । 

उनले पहलमान बन्ने सपनामा पनि सोचेका थिएनन् तर उनको वलिष्ठ शरीर देखेका गाउँलेले पहलमान बन्न उक्साउन थाले । पछि उनी र उनका भाइ रन्धावा गाउँमा खेलाइने ‘दंगल’ मा भाग लिन थाले । सन् १९४७ मा दारा सिंह सिंगापुर पुगे । त्यहाँ मलेसियाका च्याम्पियन तारलोक सिंहलाई पराजित गरी विजयको झण्डा गाडे । त्यसबेला उनको उमेर १९ थियो । उनी विभिन्न मुलुक पुगे र विजय हासिल गर्दै गए । उनी १९५२ मा स्वदेश फर्के र १९५४ मा भारत च्याम्पियन बने । भारत च्याम्पियनको हैसियतमा कमनवेल्थ मुलुकको भ्रमणमा निस्के र जताततै विजयको झण्डा गाड्दै गए । यसैबीच सन् १९६८ मा विश्व च्याम्पियन अमेरिकी पहलमान लाउ थेजसित भिडे र उनलाई पराजित गरी विश्व विजेता बने । उनले ३६ वर्ष कुस्ती लडे र सदा अपराजित बन्न सफल भए । ५५ वर्षको उमेरमा कुस्ती खेलबाट सन्न्यास लिए । पछि राज्यसभाको सदस्यसमेत बने ।  

दारा सिंहले कुस्ती खेल्नेबाहेक चलचित्रमा पनि काम गरे । उनी अभिनीत पहिलो चलचित्र सन् १९५२ मा प्रदर्शित र दिलीपकुमार अभिनीत ‘संगदिल’ हो । उनले १ सय १५ वटा चलचित्रमा काम गरे भने धेरै फिल्ममा उनी नायक थिए । उनले फिल्मको कहानी लेखे, निर्माण गरे । लोकप्रिय सिरियल रामायणमा हनुमान बनेका थिए । यो सिरियलमा खेलेपछि दिनमा २ किलो दूध र आधा किलो मासु खाने गरेका उनी पूरै शाकाहारी बने ।

उनी दिनमा घ्यू, ८–१० वटा रोटी, १०० वटा बदाम, काजु, किसमिस खान्थे । तन्दुरुस्त शरीरकै कारण उनले चलचित्रमा काम पाउन थालेका थिए तर उनलाई हिन्दी बोल्न आउँदैनथे । संवाद बोल्न अघिल्लो दिन सुत्दै नसुती रातभर संवाद कण्ठ पार्थे । चलचित्रमा उनी स्टन्ट हिरोको रूपमा देखा परेका थिए । तर, १२५ किलो वजनका र ६ फुट २ इञ्च अग्ला उनको हिरोइन बन्न कोही तयार हुन्नथे । तर, ५ फुट ६ इञ्च मात्र अग्ली मुमताज तयार भइन् । त्यसैले दारा सिंहको धेरै चलचित्रमा मुमताज नै हिरोइन छिन् । भनिन्छ, चलचित्रमा काम गर्दागर्दै दुबै एकार्कालाई मन पराउनसमेत थाले । पछि मुमताज चलचित्रमा नाम दाम कमाउन थालेपछि उनी पनि दारा सिंहबाट टाढिन् । एउटा अन्तर्वार्तामा दारा सिंहले भने पनि ‘बलिउडले मुमताजलाई मबाट खोस्यो’ । दारा सिंह र मुमताजको बिहे त भएन नै तर दारा सिंहका भाइ रन्धावाको बिहे मुमताजकी बहिनी मल्लिका अस्करीसित भयो । 

दारा सिंहकी पहिलो पत्नी बच्चन कौरको मृत्यु बिहेको १० वर्षमै भएको थियो । पछि उनले आफैँले रोजेकी सुरज कौरसित बिहे गरे । सुरज कौरपछि ३ छोरी र २ छोरोको आमा बनिन् । सन् २०१२ जुलाई ७ मा हृदयाघात भएपछि दारा सिंहलाई अस्पताल लगियो । ५ दिनपछि जुलाई १२ मा उनको निधन भयो । उनी ८३ वर्षका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू