सभामुखको मर्यादा नराखेको भन्दै गगनसँग केपी ओली क्रुद्ध

सभामुखको मर्यादा नराखेको भन्दै गगनसँग केपी ओली क्रुद्ध
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनअघि संसद बैठकमा दिएको एउटा अभिव्यक्तिप्रति चर्को आक्रोश पोख्नुभएको छ । 

वैशाख २८ गते बसेको प्रतिनिधि सभाको बैठकमा थापाले सभामुख देवराज घिमिरेलाई 'निगाहाको समय चाहिंदैन' भनेकोमा उहाँ आक्रोशित हुनुभएको हो । थापा अशिष्ट ढंगले प्रस्तुत भएको र संसदमा उदण्डता देखाएको ओलीको आरोप छ  ।

उक्त बैठकमा बोल्न थापालाई शुरुमा तीन मिनेटको समय उपलब्ध गराइएको थियो । पछि सभामुखले अरु दुई मिनेट समय थपिदिएको बताएपछि उहाँले निगाहाको हैन हकको समय चाहिने अभिव्यक्ति दिनुभएको थियो । 

आज दिउँसो संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले थापाको उक्त अभिव्यक्तिको निन्दा गर्नुभयो । सभामुखले बोल्न समय दिँदा 'तपाईको निगाहाको समय चाहिँदैन भन्ने' कुराले उदण्डता प्रदर्शन भएको उहाँको भनाई छ । 

'सभामुखले मैले तपाईलाई समय दिएँ भन्दा तपाईको निगाहाको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने संसदमा । सभामुखसँगको के भाषा हो नेपाली काँग्रेसको ?', आक्रोसित हुँदै ओलीले प्रश्न गर्नुभयो, 'सभामुखसँग त्यस्तो भाषाले प्रस्तुत भएर यो संसद चलाउने खोजेको हो नेपाली काँग्रेसले ? काँग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ कि बहुदलीय व्यवस्था चलाउन खोज्छ ?'

कांग्रेसले सहअस्तित्व र पारस्परिक मर्यादा बुझ्न नसकेको टिप्पणी गर्नुभएका उहाँले आफ्नो राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधि करार गर्न खोजिरहेको आरोप पनि लगाउनुभयो । 

त्यसक्रममा ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने पुरानै अडानसमेत दोहोर्याउनुभएको थियो । गृहमन्त्रीलाई आरोपित गरिएकाले आफ्नो सफाइ दिन पाउनुपर्नेमा कांग्रेसले बाधा गरिरहेको उहाँको आरोप छ ।

टिप्पणीहरू