रोमान्स पहिलोपल्ट, कस्तो होला रिजल्ट ?

रोमान्स पहिलोपल्ट, कस्तो होला रिजल्ट ?
सुन्नुहोस्

झापामा जन्मिएकी परीक्षा लिम्बू सानैदेखि अभिनयमा रुची राख्थिन् । हस्पिटल गएर घर फर्केपछि आफैं डाक्टर बन्थिन्, थर्मामीटर पनि काखीमा घुसारिदिन्थिन् । कपडा पसलबाट घर फर्किएपछि आफैं साहु बन्थिन्, दराजमा कपडा सजाएर । यस्ता थुप्रै हर्कत गर्थिन्, उनी । 

फरक–फरक क्यारेक्टर बन्न/गर्न रुचाउने परीक्षा अहिले नेपाली चलचित्रको उदाउँदो तारा बनेकी छन् । गत वर्ष रिलिज भएको चलचित्र ‘जारी’मा उनले सहायक भूमिका निभाइन् । भूमिका छोटो भए पनि उनको अभिनयको राम्रै चर्चा भयो । आगामी जेठ १० गतेबाट रिलिज हुन लागेको ‘पुजार सार्की’बाट उनले लिड रोलमा डेब्यु गर्दैछिन् । यसको टिजर, ट्रेलर र गीतले दर्शकमाझ राम्रो हाइप बनाएको देखिन्छ । 

उनै परीक्षासँग जनआस्थाले गरेको कुराकानीको सम्पादिश अंशः 

‘पुजार सार्की’सँग कसरी जोडिनुभयो ?  

कास्टिङ कल अनाउन्समेन्ट भएको थियो । साथीहरुले मलाई अडिसन दिन सल्लाह दिए । मलाई पनि यो मेरै लागि हो कि भन्ने ‘साइन’ जस्तो लाग्यो । अनि मैले ६÷७ वटा भिडियो बनाएर पठाएँ । त्यसपछि उहाँहरु (निर्माण टिम)ले बोलाउनुभयो । त्यहाँ पनि एक÷दुई वटा दृश्यको लागि लाइभ अडिसन दिएँ । अनि म फाइनलमा पुगेँ र फिल्ममा अनुबन्धित भएको हुँ । 

चलचित्रको कथा कस्तो छ ? तपाईंको क्यारेक्टरले बोक्ने प्रतिबिम्ब के हो ?

यसमा सामान्य कथा छ, तर फरक शैलीमा प्रस्तुत गरिएको छ । हामी आफूलाई आधुनिक भइसक्यौँ, शिक्षित भइसक्यौँ भन्ने ठान्छौं । तर अझै पनि हाम्रो समाजमा जातीय विभेद र छुवाछुतका घटनाहरु भइरहन्छन् । हामीले समाजको आधारभूत कुराहरु कुसंस्कार र अन्धविश्वास पूर्णरुपमा हटाउन सकेका छैनौं, अनि कसरी अरु विकास हुन्छ ? चलचित्रले यस्तै केही भनेको छ । मूलतः चलचित्रमा ०४६ साल आसपासमा समाजमा भएको जातीय विभेदको घटनालाई केन्द्रमा राखिएको छ । यसमा प्रेम त हुने नै भइहाल्यो । 

यस्तो घटना तपाईंले वास्तविक जीवनमा भोग्नु भएको छ ? 

मैले प्रत्यक्ष भोगेको छैन । तर वरपर धेरै देखेको छु् । 

‘देखेको छु’ भन्नाले ? 
आफैं नभोगे पनि खासमा जातीय विभेदसँग पहिल्यैदेखि म नजिक रहेछु, यो अहिले थाहा पाएँ । जस्तो म स्कुल पढ्दा मेरा साथीहरुको अफेयर हुन्थ्यो । यदि केटा दलित हो भने पनि उनीहरु रिलेसनमा बस्थे । तर उनीहरुले त्यो सम्बन्धलाई कहिल्यै लामो समयको लागि सोच्दैनथे । योसँग मेरो बिहे हुने होइन, घरबाट दिँदैनन् भन्थे उनीहरु । त्यतिबेला किन यस्तो भनेका होलान् भन्ने लाग्थ्यो । तर अहिले बुझेँ कि, त्यो पनि जातीय विभेदले किशोरावस्थामा सिर्जना गरिदिने मानसिकता रहेछ ।   

भनेपछि तपाईंले भोग्नुभएन, देख्नुभयो मात्रै ? 

एकदम । हुन त मेरो बाबा–मम्मी पनि इन्टरकास्ट नै हो, जातको कुरा गर्ने हो भने । तर मैले कहिल्यै भोग्नु परेन । 

तपाईं पूर्वेली लवजमा हुर्किनुभयो तर चलचित्रको ट्रेलरमा पश्चिमको मगर बनेको देखियो, कत्तिको कठिन भयो ?

चलचित्रले खोजेको क्यारेक्टर निभाउन गाह्रो थियो नै । तर सायद कलाकारको धर्म भनेकै त्यही होला, आफूजस्तो भए पनि कथा अनुसार फरक क्यारेक्टरमा बाँच्नैपर्ने । बोल्दा कतै न कतै पूर्वको लवज आइहाल्छ, तर चलचित्रमा मैले पश्चिमको लवज बोल्नुपर्ने थियो । टिमका अरु साथीहरुको सहयोग र मेरो प्रयासले यो सम्भव भयो ।  

हाँसेको अभिनय गर्न सजिलो कि रोएको ? 

यसमा अरु कलाकाहरुलाई के लाग्छ, म भन्न सक्दिनँ । तर मलाई चाहीँ हाँसेको भन्दा रोएको अभिनय गर्न सजिलो लाग्छ । किनकी, केही भावनात्मक कुरा गर्दा वा सोचेपछि जो पनि इमोसनल हुन्छ । तर हाँसेको अभिनय गर्न निकै गाह्रो हुँदोरहेछ । मलाई अहिले कमेडी कलाकारहरु कसरी त्यस्तो गर्छन् होला भन्ने लाग्छ । आफूले हँसाउछु वा हाँस्छु भन्दा पनि दर्शक वा स्रोतालाई त्यो कमेडी नलाग्न सक्छ । त्यसैले बरु रुन सजिलो, हाँस्न गाह्रो हुँदोरहेछ । 

चलचित्रमा हिरोइनको सुन्दरताले ज्यादा अर्थ राख्छ कि अभिनयले ? 

यो चाहीँ बराबर हुन्छ जस्तो लाग्छ, मलाई । बाहिरी सुन्दरताले दर्शकको आँखा खिच्न ठूलो सहयोग गर्छ । तर फेरि अनुहार सुन्दर हुँदैमा उ भित्रबाट पनि राम्रो हुन्छ भन्ने होइन । अभिनय पनि राम्रो हुनुपर्छ । अनुहार राम्रो भयो, तर अभिनय राम्रो भएन भने उसलाई विस्तारै दर्शकले मूल्याङ्कन गरिहाल्नुहुन्छ । तर अभिनय साँच्चिकै राम्रो हुनुपर्छ, यो राम्रो भयो भने अनुहारको सुन्दरता आफैं ‘फेडआउट’ हुँदै जान्छ । 

यो त फिल्मको कुरा भयो, अब केही रोचक प्रश्नहरु गर्छु !

 हुन्छ । अफ्ठ्यारोमा चाहीँ नपार्नुहोला, हा हा हा..

जीवन के हो ? 

जीवन ‘पज्जल’ जस्तो लाग्छ मलाई । मिलाउँदा–मिलाउँदै, बुझ्दा–बुझ्दै सकिने । यसरी पनि भन्न सकियो कि जीवन यात्रा हो, तर कहाँसम्म पुग्छौँ थाहै हुँदैन । गन्तव्यबिनाको यात्राजस्तो । 

अनि प्रेम ? 

प्रेम चाहीँ हृदयमा निस्वार्थ उत्पन्न हुने महशुस होला । कोहीसँग केही अपेक्षा नराखी महुशस हुन्छ भने त्यो प्रेम हो जस्तो लाग्छ ।

सामाजिक सञ्जालमा धेरै सोधिएको प्रश्न छ, तपाईं सिंगल हो वा मिंगल ? 

म पूर्ण सिंगल छु । बरु अहिले म आफ्नै करिअर र परिवारसँग रिलेसनमा छु, हा हा हा ..

आइडल हिरो ? 

दिलिप रायमाझी । सानोमा उहाँका फिल्महरु धेरै हेर्थें । 

आइडल हिरोइन् ? 

प्रिंयका कार्की । उहाँको डान्स हेरेर मैले धेरै कुरा सिकेको छु । 

मनपर्ने नेता ? 

म यसमा दुई जनाको नाम लिन्छु, बालेन शाह र हर्क साम्पाङ । अहिले युवापुस्तामा उहाँहरुले राम्रो गरिरहनु भएको छ । 

साहित्यमा कत्तिको रुची राख्नुहुन्छ ? 

राख्छु । पढिरहेको हुन्छु, तर लेख्दिनँ । 

पछिल्लो समय पढेको पुस्तक ? 

‘दी आर्ट अफ सिडक्सन’ होला, सायद । मलाई साइकोलोजी र सस्पेन्स कथा मनपर्छ । मेरो पढाइ पनि त्यस्तै भएको हो कि । 

अन्त्यमा, तपाईंको नाम पनि परीक्षा, ‘पुजार सार्की’को परीक्षा कस्तो रह्यो ? रिजल्ट अनुमान गर्नुभएको छ ? 

यो त दर्शकमा नै भरपर्ने कुरा हो । प्रश्नप्रत्रमा जस्तो फिल्ममा नहुँदोरहेछ, अनुमान गर्न । आफूले के सोचिएर गरिएको हुन्छ, त्यो काम दर्शकले कसरी लिनुहुन्छ, पत्तै हुँदैन । तर, मैले मेरो परीक्षा सकभर राम्रै दिने प्रयास गरेको छु । फिल्मले हाम्रै समाजको कथा भनेको छ । दर्शकले कसरी लिनुहुन्छ, अब त्यो त जेठ १० मै थाहा हुन्छ । 

(परीक्षा लिम्बूसँगको पूरा भिडियो अन्तर्वार्ता हेर्न लिंकमा क्लिक गर्नुहोस् )

टिप्पणीहरू