भखरै सरुवा भएका दुई सहसचिवलाई महावाणिज्यदूत बनाइँदै
हालै परराष्ट्र मन्त्रालयमा सरुवा भएका दुई जना सहसचिवलाई महावाणिज्यदूत बनाएर भारतको कोलकाता र चीनको ग्वान्झाओ पठाउने तयारी थालिएको छ ।
गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद्को बैठकद्वारा परराष्ट्रमा सरुवा गरिएकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रशासन महाशाखा हेर्ने सहसचिव नारायणप्रसाद भट्ट र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना छन् ।
भट्टलाई ग्वान्झाओ र ढुङ्गानालाई कोलकातामा महावाणिज्यदूत नियुक्त गरिने बुझिएको छ । परराष्ट्रअन्तर्गत आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्त गर्न ढिलाई भएपछि उनीहरुको सरुवा गरिएको थियो । उनीहरुलाई महावाणिज्यदूतमा छिट्टै नै नियुक्ति गरिने परराष्ट्र स्रोतले जनाएको छ ।
यता,भट्टको ठाउँमा प्रधानमन्त्री कार्यालयमा जिल्ला प्रशासन कार्यालय,पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य आउने बुझिएको छ । राजश्व अनुसन्धानको जिम्मेवारी चक्रबहादुर बुढाले सम्हालेका छन् । पर्यटन विभागमा रहेका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजस्वको महानिर्देशकमा नियुक्त गरेका हुन् ।
टिप्पणीहरू