सुनिल जेल गए,आज राती विकलको पालो,फैसला लेखिँदै

सुनिल जेल गए,आज राती विकलको पालो,फैसला लेखिँदै

‘नेशनल पेमेण्ट गेटवे प्रणाली’ खरिदमा भ्रष्टाचार गरेको ठहर भएसङ्गै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल ९ वर्ष कैद सजाय भुक्तान गर्दैछन् । उनलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले गत वैशाख २५ गते ९ वर्ष कैद र २३ करोड २६ लाख ५८ हजार ७७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । 

आदेशमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसूरमा सोही दफाको ३(१)(झ) बमोजिम कैद र दफा ३ (१) बमोजिम जरिवाना गरिएको हो ।’ 

छ वर्षअघि खरिद गरिएको प्रणाली थन्काएर सरकारलाई २५ करोड रुपैयाँ बराबरको नोक्सानी गराएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतले वैशाख ७ गते सो मुद्दामा पौडेललाई दोषी ठहर गरेर १६ दिनपछि सजाय सुनाएको हो । 

उता सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेलविरुद्ध लागेको भ्रष्टाचार मुद्दामा विशेषले आज निर्णय सुनाउँदै छ । उनीविरुद्धको मुद्दामाथि बहस सकिएपछि न्यायाधीशद्वय अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले संक्षिप्त आदेश सुनाउने र जेल पठाउने तयारी भैरहेको छ ।

अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालमा सरकारी सेवामा नियुक्त भएको अभियोगमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विकलले विदेशको स्थायी आवासीय अनुमतिपत्र लिई झूठा विवरण पेश गरी झुक्याएर सरकारी–सार्वजनिक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ । 

संविधानको धारा २९१ को उपधारा (१), निजामती सेवा ऐन, २०४९ को दफा ६१ (२) र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) को व्यवस्था विपरीत उनले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्ति लिएको र उक्त कार्य दण्डनीय रहेको मुद्दामा उल्लेख छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन माग दाबी गरिएको छ । 

यसअघि गत माघ १० गते विकलसहित नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको, नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

टिप्पणीहरू