पूर्व रास्ट्रपतिलाई साक्षी राखेर राष्ट्रिय महिला भेला

पूर्व रास्ट्रपतिलाई साक्षी राखेर राष्ट्रिय महिला भेला
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय महिला भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । पार्टीमा योगदान पुर्याउने अन्य महिला नेतृलाई पाखा लगाएर भण्डारीलाई प्रमुख अतिथि र वक्ता बनाएको भन्दै नेता–कार्यकर्ताले झिनो असन्तुष्टि पोखेका छन् । 

एमालेको जनसंगठन समन्वय संयन्त्रले आउँदो जेठ १६ र १७ गते पहिलो राष्ट्रिय महिला भेलाको आयोजना गरेको छ । सो भेलाको तयारी पुरा भइसकेको स्थायी कमिटी सदस्य एवं संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार भेलाका प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी र प्रमुख वक्ता अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली रहेका छन् । 

महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशतको आरक्षण दिन उनको ठूलो योगदान रहेकाले उनलाई प्रमुख अतिथि बनाइएको पार्टीले जनाएको छ । त्यस्तै,उनले एमालेलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरिएको छ । 

एमालेको तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष उनको नेतृत्वमा प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता,विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावको रुपमा पास गरेको एमालेको भनाइ छ। 

पहिलो दिन कमलादीको प्रज्ञा भवनमा हुने भेलामा पाँच हजार महिलाको सहभागिता रहने जनाइएको छ । पार्टीका केन्द्रीय सदस्यहरु, २३ वटै जनसंगठनका महिला नेतृहरु, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरु, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरु, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधिहरु भेलामा उपस्थित हुनेछन्। 

दोस्रो दिन तोकिएका प्रतिनिधिहरुलाई बोलाएर बबरमहलस्थित कार्की बैङ्कवेटमा कार्यक्रम गरिनेछ । एमालेका एक नेताले भने,‘महिला भेलामा विद्यादेवी भण्डारीले आएर भाषण दिने भन्ने छ । विद्यादेवीभन्दा अष्टलक्ष्मी शाक्यलाई ल्याएर बोल्न लगाए हुन्थ्यो । पार्टीमा विद्यादेवीभन्दा उनको योगदान धेरै छ ।’

 

टिप्पणीहरू