एमाले काङ्ग्रेसलाई माफी मगाउन कस्सियो
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली काँग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।
सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकपछि पौडेलले ओलीमाथि कांग्रेस नेताहरुले लगाएको आरोपको एमालेले प्रतिकार गर्ने चेतावनीसमेत दिए । काँग्रेसले एमाले र ओलीलाई टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको पौडेलको आरोप छ ।
‘नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा,समस्या समाधानको पक्षमा छैन भन्नेकुरा पछिल्ला दिनका घटनाक्रमहरुले, उसका अभिव्यक्तिले संकेत गरिरहेको छ', उनले भने, 'विशेष गरी एउटा असान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली काँग्रेस लागेको छ ।'
ओलीविरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण लाञ्छना लगाइएको भन्दै आक्रोशित उपाध्यक्ष पौडेलले कांग्रेसले लिखित रुपमा क्षमायाचना गर्नुपर्ने बताए ।
हाम्रो स्पष्ट भनाइ के छ भने नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, काँग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमायाचना गर्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ', उनले भने ।
सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन काँग्रेस तयार नरहेको पनि पौडेलको आरोप छ । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले पछिल्ला दिनमा गिरीबन्धु टि-स्टेटको मुद्दा पनि उठाइरहेको छ । यस प्रकरण एमाले अध्यक्ष ओलीमाथि छानविन गर्न कांग्रेस नेताहरुले माग गरिरहेका छन् ।
ओली नेतृत्वको तत्कालिन सरकारले गिरिबन्धुको हदबन्दी छुटको जग्गा सट्टापट्टा गर्न दिने नीतिगत निर्णय गरेको थियो । सर्वाेच्च अदालतले हालै उक्त निर्णय बदर गरिदिएपछि चर्को विवादमा परेको छ । आफ्ना अध्यक्षमाथि लान्छना लगाएको भन्दै पौडेलले पोखेको आक्रोश सायद यहि हो ।
टिप्पणीहरू