हँसाउन छोडेर 'रुवाउने' विधा रोजेका साइग्रेसको अनुभव- भाषाका कारण नेपाली साहित्य खुम्चियो !

हँसाउन छोडेर 'रुवाउने' विधा रोजेका साइग्रेसको अनुभव- भाषाका कारण नेपाली साहित्य खुम्चियो !

एक जमाना थियो, जतिबेला साहित्यलाई 'हेभी' विषय मानिन्थ्यो । सीमित मान्छेले मात्र पुस्तक पढ्थे । साहित्यिक पुस्तक पढ्दा समय बर्बाद हुने सम्मको भाष्य निर्माण गरिएको थियो ।

तर, अहिले समय फेरिएको छ । प्रविधिको विकासले साहित्यमा रुचि राख्नेहरुलाई सहजता पनि दिएको छ । अर्थात् कविता, कथा, निवन्धजस्ता साहित्यिक पुस्तक खोजी-खोजी पढ्नुपर्ने बाध्यता हट्दै गएको छ । डिजिटल प्याल्टफर्म साहित्यिक संसारको नयाँ माध्यम बन्दैछ ।

प्रविधिले दिएको सहजतासँगै पछिल्लो समय युवापुस्तामा साहित्यप्रतिको लगाव बढ्दै गएको देखिन्छ । फुर्सदमा होस् वा राति सुत्दा, मोबाइलमा अडियो नोवेल सुन्ने युवा-युवतीहरु प्रशस्त छन् । यी युवाका प्रिय पात्र हुन्- साइग्रेस पोखरेल । सामाजिक सञ्जालमा निकै चर्चित उनले लेखेको र वाचन गरेका कथाहरु यूटुबमा सात लाखभन्दा बढीले निरन्तर सुन्दै/हेर्दै आएका छन् । यसबाहेक उनका छोटा सिर्जनाहरु फेसबुक र इन्स्टाग्राममा भाइरल भैरहन्छ ।

जस्तो कि-

तिमी हिरा, म धातु, कुरै मिलेन
तिमी राहु, म केतु, कुरै मिलेन
हिजोसम्म उद्धेश्य सोध्नेले आज हैसियत सोधिन्
तिमी पिज्जा, म सातु, कुरै मिलेन ।

रोचक कुरा के भने, हामीले 'म्युजिक टूर', 'फिल्मी टूर', 'डान्स टूर'बारे त सुन्दै आएका थियौँ । तर 'वर्ड टूर' भने नेपालमा नयाँ प्रयोग हो । जसको सुरुवात उनै साइग्रेसले गरे ।

उनको 'वर्ड टूर' अन्तर्गत ६०औँ श्रृंखला हालै काठमाडौँको राष्ट्रिय सभा गृहमा सम्पन्न भयो । यसअघि उनले झापा, इटहरी, चितवन, बुटवल, पोखरालगायतका शहरमा कार्यक्रम सम्पन्न गरिसकेका छन् । युरोपका विभिन्न शहरमा पनि साइग्रेसले 'वर्ड टूर'को कार्यक्रम गरेका थिए ।

यसरी बन्यो 'साइग्रेस' नाम

साइग्रेसको जन्म धादिङमा भयो । तर, उनको हुर्काइ र पढाई भने काठमाडौँमा भएको हो ।

सानैदेखि सहयोगी भावनाका थिए उनी आफूसँग भएका सामान वा खानेकुरा, साथीहरुलाई शेयर गर्न मन पराउँथे  । अरुको कूभलो कहिल्यै नचिताएको बताउने साइग्रेस भन्छन्, 'म सानो हुँदा सोच्थे कि म मर्सिटिज चढे भने मेरो साथीहरु पनि बिएमडब्ल्यू चढुन् ।'

जिज्ञासु र सिर्जनशीलता उनको अर्काे विशेषता हो । त्यस्तै, उनमा सानैदेखि नेतृत्व क्षमता पनि थियो । तिहारमा देउसी-भैलो खेल्दा समूहलाई उनी नै नेतृत्व गर्थे । एक हिसाबले भन्ने हो भने साइग्रेस समस्याको न्यूनीकरण गर्न खप्पिस थिए ।

'साइग्रेस' नेपाली समाजका लागि पृथक नाम हो । तर, यो नाम भने उनी सत्य साइबाबाबाट प्रभावित भएर राखिएको बताउछन् । 'मेरो परिवारमा सबै सत्य साइबाबाप्रति आस्था राख्नु हुन्थ्यो । त्यसैको साइनबाट मेरो नाम साइग्रेस भयो', उनी स्मरण गर्छन् ।  अहिले नामलाई नै जीवनशैली बनाइरहेको साइग्रेस यसप्रति सन्तुष्ट छन् ।

हँसाउने र रुवाउने पात्र

साइग्रेसको कथा सुन्दा पाठक/दर्शकहरु धेरै भावुक हुन्छन् । सुन्दा सुन्दै कतिपय त डाँको छोडेर रोएका घटना पनि छन् । साइग्रेस आफैँ भने सुरुका दिनमा मानिसलाई हँसाउन चाहन्थे ।

उनी कक्षा ४ पढ्दैगर्दा स्कुलमा एउटा स्ट्यान्ड-अप कमेडी प्रतियोगिता भएको थियो । साइग्रेसले भाग लिए । प्रतियोगितामा उनीभन्दा राम्रो कमेडी गर्ने अन्य प्रतियोगी थिए । तर, उनी प्रथम भए । नोस्टाल्जिक बन्दै भन्छन्, 'साँच्चै भन्ने हो म त्यतिबेला मभन्दा राम्रो प्रतिभा भएका साथीहरु धेरै थिए, तर रिजल्ट आउँदा म प्रथम भएछु ।'

यो क्षणलाई उनी लेखनको दृष्टिकोणबाट हेर्छन् । अरुले राम्रो कमेडी प्रस्तुत गरे पनि त्यो समय सान्दर्भिक थिएन कि भन्ने लाग्छ उनलाई । आफूले समय सान्दर्भिक कन्टेन लेखेर तयारी गरेको हुँदा प्रथम भएको हुनसक्ने साइग्रेसको विश्वास छ । यद्यपि, यही स्ट्यान्ड-अप कमेडीको लागि तयार पारिएको कन्टेन नै उनको पहिलो लेखन हो ।

तर, अहिले उनी कमेडी गर्दैनन् । बरु कथा सुनाएर दर्शकलाई भावुक बनाउने उनलाई कमेडियन हुन नसकेकोमा पछुतो छैन ।

चर्चासँगै जिम्मेवारी

सन् २०१९ मा कोभिड महामारीले मान्छेहरु घरमा थुनिएका थिए । त्यसबेलाको उकुसमुकुसपूर्ण वातावरणले बेचैनीमा बाँचिरहेकाहरु साइग्रेसको कथा सुन्न थाले । उनलाई पछ्याउन थाले ।

अहिले सामाजिक सञ्जालमा उनको राम्रो 'फ्यान फ्लोइङ' छ । फेसबुकमा सात लाख ६० हजार, यूटुबमा सात लाख १० हजार र इन्स्टाग्राममा एक लाख ३६ हजार पाठक/दर्शकले उनलाई पछ्याएका छन् । कथा सुनाइदिन आग्रह गर्दै दैनिक सयौँ मेसेज उनलाई आउने गरेको छ । तर, उनी त्यसमा हतार गर्दैनन् ।

सुरु-सुरुमा चर्चामा आउँदा साइग्रेसलाई खुशी लाग्थ्यो । तर, अहिले भने जिम्मेवारी थपिएको महशुस हुन्छ । आफ्नो कन्टेनको सामर्थ्यले आजको स्थितिमा पुगेको ठान्ने उनी भन्छन्, 'म मेरो कथाहरुमा मानवीय मूल्य र संवेदनालाई निकै ध्यान दिन्छु । सायद, त्यसैले पनि होला मेरो कन्टेनलाई अहिलेसम्म अडियन्सले माया गरिरहनु भएको छ ।'

त्यसो त, एउटा समूहलाई प्रभाव पार्नसक्ने सार्वजनिक व्यक्तित्व बनेपछि धेरै कुरामा सचेत हुनुपर्ने उनको बुझाई छ । आफूले बोलेका हरेक शब्दले अडियन्सलाई कस्तो प्रभाव पार्छ भन्नेतर्फ सँधै सचेत रहने गरेको उनले सुनाए ।

'अहिलेको अडियन्सलाई छिटो रिजल्ट चाहिन्छ । कुनै घटना भयो भने, यो विषयमा बोल्नुस् न भन्ने आग्रह हुन्छ । त्यहीमाथि उहाँहरुले पहिल्यै डिक्लियर गरेर मैले पनि त्यही बोल्दियोस् भन्ने अपेक्षा राख्नुहुन्छ', साइग्रेस सुनाउँछन्, 'यदि त्यो बोलिएन भने आलोचना हुन्छ । बोलियो भने फेरि अर्को जमाताले गाली गर्छ । किन हतार गरेको बोल्नलाई ? भन्ने प्रश्न आउछ ।'

डिजिटल भाषामा 'मिडिया इन्फ्लूयन्सर' भइसकेपछि भीडलाई नियन्त्रणमा लिनुपर्ने उनको तर्क छ । सुरुका दिनमा आफैँ पनि केही हदसम्म भीडको शिकार भएको उनले स्वीकार गरे ।

'म अहिले यो निष्कर्षमा पुगिसके कि भीडले हामीलाई नियन्त्रण गर्नु हुँदैन । हामीले चाहीँ भीडलाई नियन्त्रण गर्नसक्ने सामर्थ्य राख्नुपर्छ । त्यसका लागि राम्रो कन्टेन दिन कसरत गर्नुपर्छ', उनले थपे ।

किन 'एक्सपाेज' हुँदैनन् लेखक ?

हरेक लेखकको लेखन प्रक्रिया आ-आफ्नै हुन्छ । कतिपयले 'फिक्सन'को अवधारणमा लेख्छन् भने कतिपयले लेखेपछि 'रिलेट' गर्छन् ।

तर, साइग्रेसको हकमा भने पहिले महशुसले ज्यादा अर्थ राख्छ । कुनै विषयबारे उनलाई महशुस भयो भने मात्र शब्द संयोजनमा लाग्छन् । 'भावना आएपछि मात्र म त्यसमा सुहाउदो शब्दहरुको संयोजन गर्छु', उनले भने ।  

सिर्जनालाई सार्वजनिक र सरल बनाउनुपर्ने साइग्रेसको मत छ । अफ्ठ्यारो शब्द राखेर सिर्जना गहकिलो हुन्छ भन्नु उनको लागि भ्रम मात्र हो । थप्छन्, 'जानेका कुरा सबै राखेर वा अफ्ठ्यारा शब्दहरु राखेर कुनै पनि सिर्जना राम्रो हुन्छ भन्नेमा म विश्वास गर्दिनँ । त्यसले झन् भन्ने खोजेको मर्मलाई पनि मारिदिन्छ ।'

त्यसो त, साइग्रेस अंग्रेजी र नेपाली दुवै भाषामा दख्खल राख्छन् । तर, नेपाली भाषा नै मिठो लाग्छ उनलाई । यद्यपि, ह्रस्व र दीर्घको जटिल ब्याकरणले नेपाली भाषा फराकिलो हुन नसकेको उनको अनुभव छ । अंग्रेजी भाषा रुखो भए पनि ब्याकरण सजिलो भएका कारण विश्वभर फैलिन सकेको उनको अनुमान छ ।

'अझै पनि ह्रस्व र दीर्घको समस्याले नेपाली साहित्य अपेक्षित रुपमा फराकिलो हुन सकेको छैन', साइग्रेस भन्छन्, 'अंग्रेजी साहित्यमा त्यो समस्या खासै छैन । यो अलिकति रुखो भाषा पनि हो । तर, यसले गीत, नाटक र कविता वा कथामा अभिव्यक्ति हुन सहज बनाएको छ ।'

नेपाली भाषाको गणितलाई सुधार्न आवश्यक रहेको उनको ठहर छ । भन्छन्, 'नेपाली भाषा पानी जस्तो सरल बग्ने भाषा हो । यो संसारकै मिठो भाषा हो । यो भाषालाई अझै अन्तराष्ट्रिय परिवेशमा फैलाउनुपर्छ । तर, यसको मतवल यो होइन कि भाषाको गणित बिगार्नुपर्छ । सुधार्नु आवश्यक छ ।'

भाषाप्रति यस्तो दृष्टिकोण राख्ने साइग्रेसलाई कतिपयले भने साहित्यकार मानेका छैनन् । साहित्य भनेको पुस्तक लेखन हो भन्ने परम्परागत मान्यताले पनि त्यसमा मलजल गरेको पाइन्छ । साइग्रेसलाई भने त्यसप्रति कुनै दु:खेसो छैन । उनी सुनाउछन्, 'एउटा जमातले मलाई साहित्यकार मान्दैन, त्यसमा मेरो कुनै दु:खेसो छैन । मैले उहाँहरुबाट परिचय पाउन गरेको पनि हैन । मेरो दर्शक र पाठकले जे परिचय दिएका छन्, म त्यसमै खुशी छु ।'

आफूलाई साहित्यकार नमान्ने जमातले नै अडियन्स नपाएको उनको दावी छ । 'कुनै पनि सिर्जनाले बजार पाएन भने सजर्क मानसिक दुर्घटनामा पर्छ, र अहिले नेपालमा यो धेरै भइरहेको छ', उनले भने, 'राम्रो लेख्ने धेरै सिनियरहरु हुनुहुन्छ, तर उहाँहरु अझै एक्सपोज हुनसक्नु भएको छैन ।'

बरु पछिल्लो समय युवा पुस्तामा साहित्यप्रतिको चासो बढ्दै गएकोमा उनी सन्तुष्ट छन् । उनले थपे, 'पहिले कवि सम्मेलन भनेको ठूलो लाग्थ्यो । अहिले नयाँ युवाहरु मिलेर ओपन माइक गर्न थालेका छन् ।'

चर्चासँगै हैरानी

साइग्रेसका 'टु लाइनर्स' भिडियोहरु टिकटक र फेसबुकमा भाइरल भैरहन्छ । यसले उनी चर्चित त छन् नै, हैरानी पनि उत्तिकै दिएको छ ।

केही साताअघि 'वर्ड टूर'कै लागि उनी झापा पुगेका थिए । नाताले दाइ पर्ने एकजना साथीको घरमा खाना खाइरहेका बेला भाउजुले मोबाइल तेर्साइहालिन् । आग्रह गरिन्, 'टिकटकको लागि एक लाइन् जाओस् न !'

हुन त एक वाक्य बोल्दैमा साइग्रेसलाई कुनै समस्या पर्नेवाला थिएन । तर, मनोदशा र परिस्थिति अनुकुल नभएकाले अप्ठेरो महशुस भएको उनले बताए ।

यो एउटा प्रतिनिधि घटनामात्र हो । जहाँ पुग्यो त्यहि टिकटक र भिडियो बनाउनेहरुको लर्को लाग्ने गरेको उनको अनुभव छ ।

प्रेम र पैसा

साइग्रेसले अहिलेसम्म लेखेका वा वाचन गरेका कथाहरु अधिकांश युवा पुस्ताले रिलेट गर्ने खालका छन् । लभ, ब्रेकअप, डिप्रेशनजस्ता विषयलाई उनले सरल शैलीमा कथा बुनेर प्रस्तुत गछन्  ।

सायद त्यहि भएर होला, अचेल उनलाई ब्रेकअप र डिप्रेशनबाट गुज्रिरहेका धेरै अडियन्सको मेसेज आउँछ रे ! सबैलाई रिप्लाई दिन नभ्याउने उनी भन्छन्,  सकेसम्म रिप्लाई दिने गरेको छु ।' सुखद भविष्यको आशा देखाउंदै मेसेजको जवाफ पठाउने गरेको उनले सुनाए  ।

'यतिधेरै प्रेमको कथा भन्नुभयो, आखिर प्रेम के रहेछ ?' भन्ने प्रश्नमा उनको सरल जवाफ छ, 'कसैले कसैलाई विनास्वार्थ प्रेम गर्नु नै वास्तविक प्रेम हो । कसैको सुन्दरता, वासना, त्वजा मनपर्नु पनि प्रेम नै हो, तर त्यो क्षणिक हुन्छ ।'

'अनि प्रेमको लागि पैसा ?' भन्ने सवालमा उनी भन्छन्, 'प्रेमको लागि पैसा आवश्यक छ, तर पैसा नै सबथोक भने होइन । प्रेम गर्ने जोडी सँगै बस्न पनि टाउको लुकाउने छत चाहियो, भोजन चाहियो । यी आधारभूत आवश्यकताको लागि पैसा चाहिन्छ । तर, यो भन्दामाथि उठेर महत्वकांक्षा पूरा गर्न खोज्ने हो भने प्रेम निस्किय बन्न सक्छ ।'

अब फिल्म पनि

साइग्रेस बार्सिलोना बस्न लागेको करिब ८/९ वर्ष भयो । उनी नेपाल आवत-जावत गरिरहन्छन् ।

सुरुका दिनमा केही जागिर गरेका उनी अहिले फूलटाइम कथाकार भएर बाँचेका छन् । त्यहाँ उनको एउटा इभेन्ट कम्पनी पनि छ । दुई साथी (सांगे शेर्पा र सुरेश शर्मा)सँग मिलेर सन् २०१७ मा स्थापना गरेको कम्पनीको नाम हो, नेपालोना ।

आफ्नो जन्म र कर्म देशको संयुक्त सम्बोधन हुनेगरी यो नाम राखेको साइग्रेस बताउछन् । नेपालको 'नेपा' र बार्सिलोनाको 'लोना', नेपालोना ।

स्मरण रहोस्, गत साता मात्रै साइग्रेसकै कथा 'अधुरो प्रेम'मा आधारित रहेर फिल्म निर्माण हुने घोषणा भएको छ । राष्ट्रिय सभा गृहमा यसको थिम पोष्टर सार्वजनिक गरिएको थियो ।

अन्त्यमा, 'यो फिल्ममा हिरो तपाई आफै हो ?' भन्ने प्रश्नमा उनी हाँस्दै जवाफ दिन्छन्, 'अहिले नै पक्का भएको छैन । तर कथाले माग्यो भने भोली जे पनि हुन सक्छ !'

(भिडियो अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोस् । )

टिप्पणीहरू