बत्तिस विना काम चल्दैन–प्रधानमन्त्री प्रचण्ड

बत्तिस विना काम चल्दैन–प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अझै दुईचार चोटी विश्वासको मत लिनुपर्नेतर्फ संकेत गर्नुभएको छ । डेढवर्षमा ४ चोटी विश्वासको मत लिइसकेका प्रधानमन्त्री प्रचण्डले अझैं दुईचार चोटी यो प्रकृया दोहोरिनेतर्फ उहाँले लख काट्नु भएको हो  ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा नवनिर्मित चौतारा अस्पतालको भवन उद्घाटन गर्नुपूर्व स्थानीय कार्यकर्ताहरुसँगको संझिप्त भेटघाट गर्दै प्रधानमन्त्री दाहालले चारचारचोटी विश्वासको मत लिएर प्रधानमन्त्री भएको संसारको कुनै देशमा उदाहरण नभएको बताउनुभयो । उहाँले  आफूले पटकपटक विश्वासको मत लिएकोमा अरु दलका नेता कार्यकर्ताले टाउको दुखाउँदै पटकपटक विश्वासको मत लिनु राम्रो होइन भनेको प्रति कटाक्ष गर्दै प्रश्न गर्नुभयो एकपटक जीतेर अर्कोपटक हारेको राम्रो हो त ? आफ्नै प्रश्नको जवाफ आफै दिंदै प्रधानमन्त्री दाहालले पटकपटक जीतेर राम्रो भएको र त्यो आफ्नो खुवी भएको बताउनुभयो । उहाँले माओवादी पार्टी भाग्यमानी भएको भन्दै संख्यामा सानो भए पनि अरुका लागि जादु भएको जिकिर गर्नुभयो । हामी संख्यामा सानो छौं, ३२ सिटे तर हामीविना कोही चल्न सक्दैन । प्रधानमन्त्री दाहालले अगाडि भन्नुभयो अरु दलको ८०/९० सीट भएर के गर्नु बत्तिस सिट विना चल्न सक्दैन ।

माओवादी कार्यकर्तासँगको भेटघाटपछि चीन सरकारको सहयोगमा पुनर्निमित चौतारा अस्पतालको भवन उद्घाटन कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मूलुकले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेको तर्क गर्नुभयो । देशको नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको उहाँले दावी गर्नुभयो । गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचाकङ्हरुमा उल्लेख्य सुधार भएको उहाँको भनाइ थियो । उहाँले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने गरि संघीय  सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि  सारेको बताउनु भयो ।

कार्यक्रममा निर्वतमान सभामूख एवम् माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले हरेक विपदमा प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकमा शसरीर नै सहयोग गरेको उल्लेख गर्दै आफ्नो गृह जिल्लामा भन्दा पनि सिन्धुपाल्चोकको विकास निर्माणमा बढी समर्पित भएकोप्रति प्रधानमन्त्री दाहालको प्रशंसा गर्नुभयो ।

नेपालको लागि चिनियाँ राजदुत मिस्टर चन् सोङले सिन्धुपाल्चोकमा चीन सरकारले सानोदेखि ठूलासम्म थुप्रै योजना सम्पन्न गरिसकेको र यो अस्पताल निर्माणले सिन्धुपाल्चोकबासीहरुमा थप राहत पुगको विश्वास व्यक्त गर्नुभयो । उहाँले अझै चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ लाई जीवन्त गाउँ बनाउने चीन सरकारको योजना रहेको र सो मुताविक चीन सरकार कटिवद्ध रहेका पनि उल्लेख गर्नुभयो ।

पूर्व स्वास्थ्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य माेहनबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्य माधव सापकोटा, बागमति प्रदेश पूर्वाधार विकास मन्त्री युवराज दुलाल र चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रमको अध्यक्षता बागमति प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको हो ।

२०७२ साल बैशाख १२ गतेको महाभूकम्पमा ध्वस्त भएको चौतारा अस्पताल चीन सरकारको ६ करोड १० लाख आरएमबी अनुदान सहयोगमा पुननिर्माण भएको बताइन्छ । २०२२ सेप्टेम्बर ९ मा निर्माण सुरु भएर १८ महिनाकै छोटो अवधिमा निर्माण सम्पन्न अस्पतालको अधिकाँश मेशिन, औजार र फर्निचर सामाग्री पनि चीन सरकारले नै उपलव्ध गराएको छ । अत्याधुनिक र सुविधा सम्पन्न यो अस्पतालको निर्माणपश्चात यहाँबाट प्रवाहित हुने स्वास्थ्य सेवा पनि गुणात्मक हुने स्थानीयको विश्वास छ ।

टिप्पणीहरू