दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा मृतकको संख्या सात

दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा मृतकको संख्या सात

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । आज बिहान भे. १ च २५६० नम्बरको बोलेरो जिप सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

छ जना सवार जिपका चार जनाको घटनास्थलमा निधन भएको ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले जनाए । घाइते दुई जनाको  अस्पतालमा उपचार भइरहेको छ । 

यता मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा भएको कार दुर्घटनामा तीन जनाको निधन भएको छ । दुर्घटनामा दुई जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका ८ का बेलुवाका २५ वर्षीय अर्जुन नेपाली, निजका तीन महिने छोरी अजिता भित्रीकोटी र चालकको ज्यान गएको हो । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा. ६ च ९३७९ नम्बरको कारका चालकको पहिचान खुलेको छैन ।

घाइते २३ वर्षीया सरिता परियार र ३५ वर्षीया सानोकान्छी तामाङको उपचार भइरहेको छ । कार सडकबाट झण्डै तीन सय मीटर तल पुगेको छ ।

टिप्पणीहरू