पार्किङबाट कमाउन पल्केकाहरुले फुटपाथ विस्तारको विरोध गरे - बालेन साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सवारी पार्किङ्गका नाममा कमाउनका लागि फुटपाथ विस्तारको विरोध गरिएको आरोप लगाएका छन् ।
'पार्किङ्ग राख्न पाउनुपर्छ' भन्दै सडकमा उत्रिएकाहरुले फुटपाथ विस्तारको विरोध गरिरहेको उल्लेख गर्दै उनले नियतमै खोट देखाएका हुन् । आफू हटेपछि पुनः पार्किङ्ग राखेर कमाउनका लागि अहिलेबाटै आन्दोलन गरिएको मेयरको दाबी छ।
आज सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले सवारी पार्किङ्ग गर्दा गाडी गुड्न साँघुरो नभएको सडक फुटपाथ विस्तार गर्दा साँघुरो हुने भन्दै आन्दोलनकारीहरुलाई प्रश्न गरेका छन् ।
उनले लेखेका छन्,‘न्यूरोडमा जसले सडकमा पार्किङ्ग गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ्ग गर्दा सडक सानो भएन् न्यूरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङ्गले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’
त्यस्तै, प्रतिशोध साँध्ने भए विकास रोक्नेहरुसँग साँध्न पनि उनको सुझाव छ । ‘प्रतिशोध लिने भए विकास रोक्नेहरुसँग लिऊँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिशन बढाउन खोज्नेहरुसँग लिऊँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङ्गबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ्ग र अव्यवस्थित बनाउनेहरुसँग लिऊँ’, उनले भनेका छन् ।
बालेनले दैनिक एक लाख र व्यवसायिक सिजनमा पाँच लाखसम्म हिँड्ने सडकमा चाहिने फुटपाथको मापदण्ड हेर्न पनि सुझाएका छन् ।
महानगरले न्यूरोड, विशाल बजारमा फुटपाथ विस्तार गर्न लागेको छ । त्यसका लागि महानगरले सडक काट्न शुरु गरिसकेको छ । महानगरले फुटपाथ विस्तारको नाममा सडक साँघुरो बनाउन खोजेको आरोप लगाउँदै २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन विरोध प्रदर्शनमा उत्रिएका छन् ।
यता, सडक डिभिजन कार्यालय, काठमाडौंले गत जेठ १६ गते काटेको सडक पुरानै अवस्थामा ल्याउन भन्दै महानगरलाई पत्राचार गरेको थियो । डिभिजनले सडक पुनःस्थापना गर्न दिएको समयसीमा आज सकिँदै गर्दा बालेनले यस्तो स्टाटस् लेखेका हुन् ।
टिप्पणीहरू