जसपाका युवा नेताको निधनपछि गाउँ शोकमग्न
जनता समाजवादी पार्टी (जसपा) का एक जना युवा नेताको असामयिक निधनले सिरहाको एउटा गाउँ शोकमा डुबेको छ । ३५ वर्षीय जितेन्द्रप्रसाद यादवको निधनले उनको जन्मस्थल अर्नमा गाउँपालिका वडा नम्बर ३ का स्थानीय शोकमग्न भएका हुन् ।
केही दिनअघि वडा नम्बर ४, मापर्ने गौरीपुर स्कुलनजिक उनी मोटरसाइकलबाट लडेका थिए । त्यसपछि अचेत बनेका उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । चिकित्सकले उनको ब्रेन ह्याम्रेज भएको पुष्टि गरेका थिए ।
उपचाररत उनको आज अस्पतालमै निधन भएको गाउँपालिका अध्यक्ष अशोक यादवले बताए । ‘हामी दुवै जना क्लासमेट हौं । समाज परिवर्तनको लागि राजनीतिमा पनि सँगै आएका हौं । आज उपचारको क्रममा उनको निधन भएपछि गाउँ नै शोकमग्न बनेको छ’, यादवले भने ।
तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा भएको पहिलो मधेश आन्दोलनमा जितेन्द्रले सक्रिय सहभागिता जनाएका थिए । गाउँको विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका उनी समाजसेवीको रुपमा परिचित थिए । उनी जसपाको जिल्ला कमिटी सदस्य पनि हुन् ।
टिप्पणीहरू