संसदीय समितिले गोर्खा मिडियाको खाता पल्टाउने सांसद थापाको विश्वास
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिले छानविन गर्नुपर्नेमा जोड दिएका छन् ।
सूर्यदर्शन लगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले लामिछानेलाई बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा उनले जोड दिएका हुन् । 'गोर्खा मिडियाका मालिक जिवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानविन गरी कानूनी कारबाहीको लागि सिफारिस गर्छ भन्ने विश्वास लिएको छु', आज बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले भने ।
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको सम्बन्धमा गृहमन्त्री लामिछानेले दोहोरो भूमिका खेलेको पनि महामन्त्री थापाको भनाई छ । गृहमन्त्रीको नाम तोकेर समिति बनाउनुपर्ने आफूहरुको माग गृहमन्त्रीले नमानेका कारण सम्भव नभएको उनले खुलाए ।
'हामीले उठाएको विषय माननीय गृहमन्त्रीसँग जोडिएको छ । हामीले त सिधा नाम नै राखेर छलफल गरौँ भन्यौं । सुन्न त हामीले अन्तराष्ट्रिय समिति नै बनाउन तयार छौ भन्ने सुनिएकै हो । तर बन्द कोठामा मान्नुभएन', सांसद थापाले भने, 'अनि हामीले सोच्यौं–भात जसरी खाएपनि उही हो । त्यसैले सूर्यदर्शन लगायतका सहकारीहरु जसबाट गोर्खा मिडियामा रकम गएको छ । त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानूनी हो । त्यो गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ ।'
छानविन समितिका सबै सदस्यहरु त्यसका लागि जिम्मेवार हुनुपर्ने जनाउँदै उनले आफ्नो दलको सो अपेक्षा राखेको समेत बताए । गोर्खा मिडियामा सहकारीबाट आएको सबै रकमको पनि समितिले छानविन गर्नुपर्ने उनको भनाई छ । महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरु रहेको स्पस्ट पारे ।
'यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया संचालन गर्ने त्यसका मालिक जिवी होस कि, छवि होस कि, रवि होस कि कवि होस् उसलाई पनि बोलाउँछ । बकाइदा बोलाउँछ । छानविन गर्छ । बयान लिन्छ । सबैभन्दा राम्रो कुरा यसले अन्तिममा भन्छ–कानून बमोजिम कारबाहीको सिफारिस गर्छ । नखाएको विष लाग्नुहुँदैन भन्नेमा हामी प्रष्ट छौं । यदि नखाएको हो भने यसको विष लाग्न हुँदैन । समितिका बसेका सबै साथीहरुबाट हामी त्यही भूमिकाको अपेक्षा गर्दछौं', उनले भने ।
टिप्पणीहरू