सहकारी ठगलाई उम्क्याउने षड्यन्त्र भैरहेको छ : अध्यक्ष केसी

सहकारी ठगलाई उम्क्याउने षड्यन्त्र भैरहेको छ : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलका नेताहरु सहकारी ठगलाई जोगाउन लागिरहेको आरोप लगाएका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्तापक्षका शीर्ष नेताहरु नै सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई उम्क्याउन लागेको दाबी गरे । सहकारी ठगलाई कारबाही नगरे लोकतन्त्र र गणतन्त्रको औचित्य नहुने अध्यक्ष केसीको भनाई छ । 

ठूला पार्टीका नेता र सांसदहरु नै सहकारीका सञ्चालक रहेको बताउँदै उनले छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आशंकासमेत गरेका छन् । विगतमा बनेका संसदीय समितिहरुले दोषीलाई उम्काएको दाबी गर्दै केसीले यसपटक पनि त्यहि प्रवृत्ति दोहोरिने हो कि भन्ने चिन्ता जनाए । 

'म सरकारलाई भन्छु सहकारी ठगहरुलाई जसरी जोगाउने काम भयो अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसदमा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महशुस गरेका छन् । दुधको दुध, पानीको पानी हुनेगरी ठगहरुलाई जनताले देख्नेगरी कारबाही गरोस्’, उनले भने । 

लाखौँ सहकारीका बचतकर्ताको रकम हिनामिना भएको र त्यसमा राज्य सत्ताको निर्णायक ठाउँमा रहेका व्यक्ति संलग्न रहेको उनको दाबी छ । सहकारी ठगहरुलाई जनताले देख्नेगरी कारबाही गर्नुपर्नेमा केसीले जोड दिए ।

गृहमन्त्री रवि लामिछानेको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै उनले संसदको रोष्टमबाट अरुलाई दोषी देखाएर आफ्नो कर्तुत जोगाउन खोजेको बताए ।

‘जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजमर्ने किसिमले रोष्टमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने । त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरुले जुनखालको गतिविधि देखियो', गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै उनले भने, 'यसबाट के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिलेझैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन् ।'
 

टिप्पणीहरू