रविका यी भनाइ,रविका यी गराइ
संसदमा नागरिकका आवाज बुलन्द गर्न मतदाताले बनाइदिएको चौथो दलको हैसियत दुरुपयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले मुलुकको गृहमन्त्री छन् । उपप्रधानसहित रोजेर गृह लिएका उनको दल चार महत्वपूर्ण मन्त्रालयसहित सरकारमा छ ।
तर, सञ्चारकर्ममा छँदा राजनीतिक नैतिकताको पाठ सिकाउन टेलिभिजनको स्क्रिनमा उफ्रीउफ्री अरुको निन्दा गर्ने लामिछाने राजनीतिमा पाइला राखेदेखि शृंखलावद्ध विवादमा फस्दै आएका छन् । नागरिकता किर्ते, राहदानी दुरुपयोग हुँदै सहकारी ठगी प्रकरणमा मुछिएका छन् । नागरिकता किर्तेमा सर्वोच्च अदालतबाट उनी दोषी ठहरसमेत भए ।
त्यसो त, गतआम चुनावमा पुराना दल र तीनका नेताविरुद्ध घृणा फैलाउन लामिछानेले 'नो नट एगेन' को क्याम्पियन नै चलाएका थिए । तर, आफैँले 'नो नट एगेन' भनी 'रिजेक्ट गरेका प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो पटक गृहमन्त्री बने । सरकारमा जान उनले भित्रभित्र गरेका दौडधुपको चर्चा गरिसाध्य छैन ।
सुशासन र राजनीतिक शुद्धीकरणको चर्का कुरा गरेर राजनीतिमा एकाएक उदाएका हुन्, लामिछाने । त्यसैको बलमा उनको दल २१ सिटसहित प्रतिनिधिसभामा चौंथो शक्ति बन्यो । आफूले उठाएका मुद्धा कार्यान्वयन गराउन सरकारमा जानुपर्ने उनको मत रहँदै आएको थियो । तथापि उनले कुनै विकासे मन्त्रालय रोजेनन् । बरु, दुबैचोटी सरकारमा जाँदा नागरिकता किर्तेसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा "कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयका लागि उनले थाप्नुसम्म अत्तो थापे ।
सरकारमा जान जस्तोसुकै सम्झौता गर्ने यीनै लामिछाने विगतमा भने यस्तो प्रवृतिलाई राजनीतिको अनैतिक खेल भन्ने गर्थे । प्रमुख पार्टीका शीर्ष नेताहरुको नामै लिएर तुच्छ गालिसमेत गर्थे । टेलिभिजनको स्क्रिनमा उफ्रीउफ्री अरुको निन्दा गर्न भ्याइहाल्थे । पुराना पार्टीका नेताहरुले न्यूनतम राजनीतिक मूल्य, मान्यता र आदर्श छोडेर सत्ताको भागबण्डामा लिप्त भएको भन्दै आक्रोश पोख्थे । त्यस्तै एउटा उनको पुरानो अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले भनेका थिए, 'मेरो यो भनाई टिकटकतिर काटेर भएपनि सुरक्षित राख्नुहोला-आज एक-अर्कालाई वर्गशत्रु मानेर तथानाम गाली गर्ने ओली,प्रचण्ड, झलनाथ,माधव नेपाल एकै ठाउँमा उभिनेछन् । यो पनि रेकर्डमा राख्नुहोला कि प्रचण्ड-माधवलाई हात्तीको कानमा टाँसिन आएका चमेराहरु भन्ने कांग्रेसले हामी त प्रतिगमन रोक्ने गठबन्धन गरेका दल हौँ नि आउनुस् फेरि मिलौँ भन्नेछ ।'
ज्योतिषले भविष्यवाणी गरेझैँ ठूला दलका नेताहरु सत्ताका लागि एक ठाउँमा उभिने उनको ठोकुवा थियो । 'जसले जसलाई जति गालीगलौज र आलोचना गरेको भए पनि सत्ताको भागबण्डामा सबैको र्याल एकैपटक चुहिने छ । कुनै पनि दल कुनै पनि अर्को दलसँग सत्ताकै लागि सहजै मिल्लेछन्', लामिछानेले भनेका थिए ।
त्यतिमात्र होइन, भिडियो हेर्नेहरुलाई समेत लज्जाबोध हुने तहमा उत्रिएर उनले अगाडि भनेका छन्, 'अहिले लडाई गेरेर एक-अर्काको चरित्र हत्यामा उत्रिएका दलका कार्यकर्ता केटाहरु आफ्नो शरीरभित्र छिरेको खसी खुखुरो सुँगुर राँगोको क्वाँटिटीका आधारमा एक-अर्काको बचाउमा उत्रिनेछन् ।'
भिडियोमा लामिछानेले ठूला पार्टीहरुले राजनीतिलाई कमाऊ धन्दाको थलो बनाइएको भन्दै चर्को आक्रोशसमेत पोखेका छन् । ढिलोचाँडो यो देशले मन्त्रीका रुपमा कयौँ ठेकेदार सा'पहरुलाई पाउनेछ । गुण्डा नाइकेज्यूहरुलाई पाउनेछ । अनि बचाउका लागि फेरि पनि प्रयोग हुनेछन् बाल्मिकी ऋषि', उनको आक्रोश छ, 'अनि फेरी भनिनेछ -बाल्मिकी ऋषि पनि त रत्नाकर डाँकु थिए । नयाँ रत्नाकरहरुलाई अग्रिम शुभकामना !'
सिङ्गै राजनीतिप्रति घृणा फैलाउने तहमा उनले गरेको आपत्तिजनक टिप्पणीसहितको उक्त भिडियोमा एक हजार भन्दा बढी सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया लेखेका छन् । जसमध्ये अधिकांशले लामिछानेको विगत र आजको अवस्थालाई तुलना गर्दै नंग्याईदिएका छन् ।
एकजनाले कमेन्ट लेखेका छन्, 'यो कुरा सुनेर रविलाई अलि अलि लाज लागि रहेको होला । जे बोले आफूलाई त्यहि ठाउँमा पाए ।' कटाक्ष गर्दै अर्काले प्रतिक्रिया लेखेका छन्, 'म पनि उनीहरुसँगै उभिएर देश बर्बाद बनाउछु भनेर थपे हुन्छ।'
नकारात्मक्तामा रमाउने सामाजिक मनोविज्ञानलाई प्रयोग गरेर कथित लोकप्रियताको उचाई हासिल गरेका लामिछाने टिभीमा काम गर्दा तिखा प्रश्न गर्थे । आफैँ इस्यु उठाउने अनि प्रहरी र न्यायाधीश बनेर आफैँ फैसला पनि गरिदिन्थे । आफ्ना अभिव्यक्तिप्रति उनको जवाफदेहिता शून्य हुन्थ्यो । त्यहि भिडियोमा एकजनाले कमेन्ट लेखेका छन्, 'टेलिभिजनमा खोक्या जस्तो राजनीतिमा भएन । हेरियो, सुनियो विश्वास गरियो, मत पनि दिइयो । अब देखियो, हेरियो, टेलिभिजनमा खोक्या जस्तो काम गरेको देखिएन अब भयो ।'
अर्का एकजनाले चैं एमाले अध्यक्ष केपी ओलीलाई पनि माथ खुवाउने गरी गफ लगाएको भनी लामिछानेमाथि कटाक्ष गरेका छन् । केहिले चैं, मिसन-०८४ मा रास्वपा गायब हुने प्रक्षेपण गर्दै लामिछानेको बोलि र व्यवहारबीचको गहिरो भेद नै त्यो पार्टी पतनको कारक हुने दाबी गरेका छन् ।
सञ्जालमा लामिछानेविरुद्ध टिप्पणी गर्नेहरुमाथि 'साइवर हमला' गर्न खटिएका 'गुड लक रवि दाइ' वालाहरुले समेत बचाऊ गर्न नसकेको उक्त भिडियोमा कतिपयले चै विचार पुर्याएर बोल्न सुझाएका छन् । एकजना कमेन्टमा लेख्छन्, कथनी र करनीमा कति फरक हुँदो रहेछ, त्यस कारण सोचेर बोलेको राम्रो ।'
रवि र रास्वपाबाट आशा मरिसकेकोले भन्दै निराशा व्यक्त गरिएका प्रतिक्रिया पनि प्रसस्त छन् । त्यसमध्ये एकजनाले लेखेका छन्, 'तिमिबाट पनि आशा मारिसके जनताले, तिम्रो गाना-बजाना पनि तेस्तै हो ।' 'खाेई तिम्राे र अरुकाे आचरणमा कुनै फरक भेउ पाउन सकिन हाे मैले', निराशा जनाउने त्यस्तै अर्को प्रतिक्रिया छ ।
उक्त भिडियोमा प्रतिक्रिया लेख्नेमध्ये अधिकांशले सहकारी ठगीको विषय उठाएका छन् । नागरिकता किर्ते, दोहोरो राहदानी, सहकर्मीको शंकास्पद मृत्युमा समेत बेखबर रहेर गैरजिम्मेवार हुनेले अरुलाई प्रश्न गर्न नमिल्ने तर्क पनि गरिएको छ । यस्ता बहुरुपी पात्रलाई समाजले 'मोडल' बनाएको भन्दै आक्रोश पोख्ने एकजनाले लेखेका छन्, 'यो कस्तो समाज र चेतनास्तर छी !'
बोलीमा आक्रोश भएको मान्छेलाई कपटी र समाजको भडुवा मानिने भन्दै लामिछानेलाई त्यस्तै संज्ञा दिइएको प्रतिक्रिया पनि आएको छ । 'भुक्ने कुकुरले टाेक्दैन भन्थे हाे रैछ भाषण किन ?' एकजनाको प्रश्न छ, 'यदि आफू निर्दोष हाे भने छानविन समिति बनाउँदा भैगाे नि नानाथरी गफ किन दिनु, हामीले तपाईंलाई दिएकाे साथ पानीमा पदेकाे जस्ताे किन ?'
टिप्पणीहरू