पोखरा मेडिकल कलेज सवल संस्थाका रुपमा विकास हुने प्रधानमन्त्रीको विश्वास

पोखरा मेडिकल कलेज सवल संस्थाका रुपमा विकास हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययन-अध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन पनि दिनुभयो । 

'चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययन-अध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।' 

भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले यसको विकास, विस्तार र उन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको सङ्कुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठान चिकित्सा शिक्षामा समग्र देशकै लागिसमेत उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सम्पूर्ण सरोकारवाला निकाय र पोखरेली जनतालाई बधाइ दिनुभयो । यो अवसरको पर्याप्त सदुपयोगका गर्न उहाँको सुझावसमेत छ ।

टिप्पणीहरू