नागरिकता समस्या सुल्झाउन गृहमन्त्रीले कार्यविधि बनाउने

नागरिकता समस्या सुल्झाउन गृहमन्त्रीले कार्यविधि बनाउने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधानको प्रयास गर्ने बताएका छन् ।

सरोकारवालाहरुसँग छलफल गरी प्राप्त निष्कर्षलाई समेटेर नागरिकता सम्बन्धी तमाम समस्या समाधान गर्ने सरकारको तयारीबारे उनले जानकारी गराएका हुन् । त्यसका लागि निकट भविष्यमा नै कार्यविधि बनाउने लामिछानेले बताए । 

‘नेपाल सरकारले, गृह मन्त्रालयले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने कोशिस गरिरहेको परिप्रेक्ष्यमा सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरेर त्यो छलफलबाट आएका निचोडहरुलाई, छलफलबाट निस्किएका विषयहरुलाई समावेश गर्नसके नागरिकतासम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान गर्न सकिन्छ', काठमाडौंमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले भने, 'निकट भविष्यमा नै यसमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नेगरी कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी हो ।'

आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरी सच्याउन जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाई छ । विगतमा आफू सञ्चारकर्मी हुँदा पनि यो विषय उठाएको उल्लेख गर्दै उनले अहिले गृह मन्त्रालयले यसलाई दायित्वबोध गरेको बताए । 

'विशेष गरी गृह मन्त्रालयको पहिलो दायित्व र जिम्मेवारी हो । यो दायित्व र जिम्मेवारीको बोध गरेर नै हामी जोडिन चाहान्छौँ । आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु, त्यसको व्याख्या, पुनःव्याख्या र अभ्यासहरुबाट वास्तविक रुपमा के कस्तो समस्याको सामना गर्नु परिरहेको छ भन्नेकुरा मैले चासोका साथ उठाएको छु । आम नागरिकका प्रश्नहरु हिजो पनि सञ्चारकर्मी हुँदा उठाएको थिएँ’, गृहमन्त्री लामिछानेले भने । 

नागरिकता प्राप्त गर्ने अधिकारबाट नागरिकलाई वञ्चित गराउनु नहुनेमा जोड दिँदै उनले त्यसका लागि राज्यको तर्फबाट कुनै व्यवधान गरिन नहुने बताए ।

टिप्पणीहरू